
जगत व्यञ्जन
दैलेख। महाबु गाउँपालिका–१ स्थित खरिगैरा स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरिएको छ। महाबु गाउँपालिकाको बहुक्षेत्रीय पोषण योजना वडा नं- १ कार्यालय खरिगैरा तथा स्वास्थ्य व्यवस्थापन समितिको समन्वयमा आयोजित कार्यक्रममा स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गर्दै प्रयोगशाला ल्याब सेवाको समेत शुभारम्भ गरिएको हो।
स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा पोषणमैत्री स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्थानीय नागरिकलाई थप गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ल्याब सेवा सञ्चालनमा ल्याइएको बताइएको छ। यससँगै स्थानीय बासिन्दाले आधारभूत प्रयोगशाला परीक्षण सेवा आफ्नै घर नजिकैको स्वास्थ्य चौकीबाट प्राप्त गर्न सक्ने भएका छन्।
कार्यक्रममा बोल्दै महाबु गाउँपालिका वडा नं- १ का अध्यक्ष सर्वराज सार्कीले पोषणमैत्री स्वास्थ्य चौकी घोषणा हुनु वडा र समुदायका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले स्वास्थ्य, पोषण तथा सरसफाइलाई प्राथमिकतामा राखेर आगामी दिनमा वडा नं। १ लाई पोषणमैत्री वडा घोषणा गर्ने लक्ष्यका साथ आवश्यक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
“स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन भएपछि स्थानीय नागरिकले सामान्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता कम हुनेछ,” अध्यक्ष सार्कीले भन्नुभयो, “यसले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न र नागरिकको समय तथा खर्च बचाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।”
खरिगैरा स्वास्थ्य चौकीका इन्चार्ज विष्णु थापाले पोषणमैत्री स्वास्थ्य चौकी घोषणा र ल्याब सेवा सञ्चालनले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य चौकीमार्फत मातृ तथा शिशु स्वास्थ्य, पोषण प्रवर्द्धन र आधारभूत स्वास्थ्य सेवालाई अझ प्रभावकारी रूपमा सञ्चालन गरिने बताउनुभयो।
“समुदायको स्वास्थ्य अवस्था सुधार गर्न पोषणमैत्री कार्यक्रमलाई व्यवहारमा लागू गर्नु आवश्यक छ,” इन्चार्ज थापाले भन्नुभयो, “प्रयोगशाला सेवा सञ्चालनसँगै नागरिकलाई थप सहज र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउन हामी प्रतिबद्ध छौँ। हाल सञ्चालनमा आएको प्रयोगशालाबाट सुगर, रगत, दिसापिसाब, टाइफाइड लगायतका आधारभूत स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइने र यसबाट स्थानीय नागरिकले सहज रूपमा आवश्यक परीक्षण सेवा पाउनेछन्।”
कार्यक्रममा स्वास्थ्य, पोषण तथा समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तारका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले आगामी दिनमा वडा नं। १ लाई पोषणमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित आवश्यक सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्वास्थ्य चौकीमा पोषणमैत्री कार्यक्रम र प्रयोगशाला सेवा सञ्चालनसँगै स्थानीय नागरिकले सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।








