
दैलेख। दैलेख सदरमुकाममा आउने सर्वसाधारण तथा स्थानीय बासिन्दालाई लक्षित गर्दै नारायण नगरपालिका–१ ले निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ। शुक्रबारदेखि सुरु गरिएको उक्त सेवाले सदरमुकामका चार क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार गर्न निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।
नारायण नगरपालिका–१ नं वडा कार्यालयको लगानीमा सञ्चालनमा ल्याइएको निःशुल्क इन्टरनेट सेवा सदरमुकाममा मानिसको बढी आवतजावत हुने दैलेखको,देवकोटा चोक, लोकत्रान्तिक चोक पुरानो बजार,गणेशचोक,पुरानो बजार भगवती टोल पुरानो बजार गरि सदरमुकाका चार सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट जडान गरिएको वडा अध्यक्ष शैलेश श्रेष्ठले बताउनुभयो ।उहाँले सूचना तथा प्रविधिमा नागरिकको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै नागरिकलाई सहज रूपमा इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
वडाध्यक्ष श्रेष्ठले भन्नुभयो,“आजको समय सूचना प्रविधिको युग हो। इन्टरनेट नागरिकको दैनिक आवश्यकता बनिसकेको छ। सदरमुकाममा विभिन्न कामले आउने नागरिक, विद्यार्थी तथा यात्रुहरूलाई इन्टरनेट सेवाको अभाव नहोस् भन्ने उद्देश्यले सार्वजनिक स्थानमा निःशुल्क सेवा सञ्चालन गरेका हौँ। यसबाट सूचना प्राप्त गर्न, अनलाइन सेवा लिन तथा आफन्तसँग सम्पर्क राख्न सहज हुनेछ।”
पछिल्लो समयमा सरकारी सेवा, शैक्षिक गतिविधि, बैंकिङ कारोबार तथा विभिन्न प्रशासनिक कामहरू क्रमशः डिजिटल माध्यममा आधारित बन्दै गइरहेका छन् । यस्तो अवस्थामा सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई थप सहज हुने विश्वास गरिएको छ ।
दैलेख सदरमुकाममा डिजिटल पहुँच बढाउन र नागरिकलाई आधुनिक प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको स्थानिय हेमराज अधिकारीले बताउनुभयो । उहाँले जिल्लामा विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिक तथा विद्यार्थीहरूका लागि यो सेवा उपयोगी हुने बताउनुभयो ।इन्टरनेट पहुँच विस्तारले डिजिटल साक्षरता वृद्धि हुनुका साथै नागरिकलाई सूचना र सेवासँग जोड्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
वडाले आगामी दिनमा सेवाको प्रभावकारिता मूल्याङ्कन गर्दै आवश्यकताअनुसार थप सार्वजनिक स्थानमा समेत निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ। सेवाको शुभारम्भसँगै स्थानीय बासिन्दा, विद्यार्थी, कर्मचारी, व्यवसायी तथा विभिन्न कामका लागि सदरमुकाम आउने सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने भएका छन् । दैलेख सदरमुुकाममा करिब १लाख ३० हजार लगानी ४ठाँउमा निःशुल्क इन्टरनेट सेवा सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।








