२०८३ जेठ २९ , शुक्रबार

पोषण कार्यक्रम कार्यान्वयनमा समीक्षा



 

दैलेख, जेठ २८ गते । दैलेखमा बहुक्षेत्रीय पोषण कार्यक्रमको समीक्षा तथा पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्ययोजना सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। कर्णाली प्रदेश योजना आयोग को आयोजनामा गरिएको कार्यक्रममा पोषण योजना तथा पोषणमैत्री स्थानीय शासन निर्देशिकाको प्रभावकारी कार्यान्वयनमा स्थानीय तह र नागरिक समाज संस्थाबीच समन्वय, सहकार्य बारेमा समीक्षा गरिएको थियो।

समुदायमा पुगी पोषणयुक्त खानेकुराको महत्व र प्रयोगका बारेमा सचेतना जगाउने काम भइरहेको आठबिस नगरपालिका नगरप्रमुख तर्क बडुवाले बताउनुभयो । उहाँले पोषणमैत्री घोषणा गर्न वडामा पोषण प्रवद्र्धन तथा सुधारका गतिविधि सञ्चालन सम्पन्न भइसकेको बताउनुभयो ।

पोषणसम्बन्धी सूचक सुधार गर्दै स्वस्थ र समृद्ध समुदाय निर्माणका लागि स्थानीय तहको नेतृत्वदायी भूमिका महत्वपूर्ण रहने जिल्ला समन्वय समितीका प्रमुख नमराज शाहीले बताउनुभयो । उहाँले पोषणमैत्री कार्यक्रमले बालबालिकामा खानपानमा थुप्रै परिवर्तन भएको देखिएको बताउनुभयो ।

कार्यक्रममा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत हालसम्म भएका गतिविधि, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाबारे समीक्षा गरिएको थियो। साथै स्थानीय तहमा पोषणमैत्री शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक योजना, रणनीति तथा कार्ययोजनाका विषयमा छलफल गरिएको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा बालबालिका, किशोरी, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार गर्न स्थानीय सरकार, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानी लगायतका क्षेत्रबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।

 

कार्यक्रममा११वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, सम्बन्धित पालिकाका पोषण शाखा प्रमुख तथा विषयगत शाखाका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ जेठ २८ गते बिहीबार
प्रतिक्रिया