
दैलेख,जेठ २९ गते। नारायण नगरपालिकामा लैङ्गिक हिंसा रोकथाम तथा महिला सुरक्षासम्बन्धी सरोकारवाला निकायहरूबीच अन्तरक्रिया र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले लैङ्गिक हिंसा रोकथाम सञ्जालको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
महिला तथा बालिकामाथि हुने हिंसा न्यूनीकरण गर्दै उनीहरूको हकअधिकारको संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नारायण नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख गीता बुढाले समाजमा अझै पनि विभिन्न स्वरूपमा महिला तथा बालिकामाथि हिंसाका घटना भइरहेकाले यसको न्यूनीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले लैङ्गिक समानता र सामाजिक समावेशीकरण चुनौतीपूर्ण विषयका रूपमा रहेको उल्लेख गर्दै यस क्षेत्रमा भइरहेका प्रयासलाई थप प्रभावकारी बनाउन राज्यका निकाय तथा नागरिक समाज संस्थाहरूको सक्रिय भूमिका आवश्यक रहेको धारणा राख्नुभयो।








