२०८३ असार ३ , बुधबार

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सचेतना कार्यक्रम



 


यामराज बिष्ट
दैलेख।दैलेखमा स्थानीय तहका न्यायिक समिति, निर्वाचित वडा जनप्रतिनिधि तथा मेलमिलापकर्ताहरूबीच वैदेशिक रोजगारलाई सुरक्षित बनाउन अन्तरक्रिया कार्यक्रम गरिएको छ ।सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीसम्बन्धी जानकारी प्रवाह गर्ने तथा वैदेशिक रोजगारीका क्रममा हुने ठगी, शोषण र अन्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नारायण नगरपालिकाले कार्यक्रम आयोजना गरिएको हो।
वैदेशिक रोजगारीमा जाने युवाहरुलाई श्रम स्वीकृति, वैदेशिक रोजगारका कानुनी प्रक्रिया, सीप तथा दक्षताको महत्व, ठगीबाट बच्ने उपाय, तथा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी जानकारी हुनुपर्ने नारायण नगरपालिका प्रमुख प्रसासकीय अधिकृत मेघराज रिजालले बताउनुभयो। उहाँले सुरक्षित र कानुनी प्रक्रियामार्फत मात्र वैदेशिक रोजगारीमा जान नागरिकलाई निरन्तर सचेत हुनपर्ने बताउनुभयो।

कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र जोखिममुक्त बनाउन जनस्तरमा सचेतना फैलाउने सहयोग गर्नुपर्ने दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताउनुभयो ।उहाँले स्थानीय तह नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले जनताका समस्या समाधानमा सक्रियतापूर्वक काम गर्नुपर्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीबाट प्राप्त हुने आम्दानीलाई उत्पादनशील तथा दीर्घकालीन रुपमा फईदा हुने क्षेत्रमा लगानी गरी सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
यस्तै नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र संस्थागत बनाउन आवश्यक पहल गरिने बताउनुभयो। उहाँले वैदेशिक रोजगारमा जाने तथा फर्किएका नागरिकका समस्या समाधानका लागि नगरपालिका सदैव सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वैदेशिक रोजगारीका कानुनी प्रक्रिया, श्रम स्वीकृति, गन्तव्य मुलुकका नियम, कामदारका अधिकार तथा सुरक्षित आप्रवासनका विषयमा सहजीकरण गरिएको थियो। सहभागीहरूले समुदायस्तरमा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।
नगरपालिकाले सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगारलाई थप प्रभावकारी र व्यवस्थित बनाउन यस्ता सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ ३० गते शनिबार
प्रतिक्रिया