
काठमाडौँ । अष्ट्रेलियाका चर्चित ब्याट्सम्यान डेभिड वार्नरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने संकेत देखिएको छ ।
एनपीएलको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले वार्नरलाई अनुबन्ध गर्ने तयारी गरेको हो । गोर्खाजले सामाजिक सञ्जालमा टी–२० र एकदिवसीय दुवै विश्वकप जितेका खेलाडीलाई टोलीमा भित्र्याउन लागेको संकेतसहितको पोस्ट सार्वजनिक गरेपछि वार्नरको नाम चर्चामा आएको हो ।
वार्नरले अष्ट्रेलियाका लागि टी–२० तथा एकदिवसीय विश्वकप जितिसकेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटका तीनै फर्म्याटमा अष्ट्रेलियाको प्रतिनिधित्व गरेका छन् ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ ।
एनपीएलको पहिलो संस्करणमा भारतका पूर्वओपनर शिखर धवन कर्णाली याक्सबाट खेलेका थिए । दोस्रो संस्करणमा दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिस विराटनगर किंग्सबाट सहभागी भएका थिए । तेस्रो संस्करणका लागि बङ्गलादेशका अलराउन्डर शकिब अल हसनलाई पोखरा एभेन्जर्सले अनुबन्ध गरिसकेको छ ।
वार्नर पनि एनपीएलमा सहभागी भएमा प्रतियोगितामा सहभागी हुने चर्चित अन्तर्राष्ट्रिय खेलाडीको सूची थपिनेछ ।








