
हुम्ला । नेपाल–चीन सीमा व्यवस्थापन तथा सीमा क्षेत्रमा देखिने समस्या समाधानका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको ताक्लाकोट पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँको नेतृत्वमा हुम्लाका सुरक्षा निकायका प्रमुख तथा नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामासहितको टोली ताक्लाकोट पुगेको हो । चीनको पुराङ काउन्टीको स्थानीय प्रशासनको निमन्त्रणामा टोली त्यहाँ पुगेको प्रमुख जिल्ला अधिकारी गुरागाईँले बताउनुभयो ।
छलफलमा सीमा क्षेत्रमा हुनसक्ने अपराध नियन्त्रण, दुई देशबीचको समन्वय, व्यापार तथा आवतजावतमा सहजीकरण र सीमावासी नेपालीलाई कैलाश मानसरोवर यात्रामा सहजीकरण गर्ने विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी नेपाल र चीनबीच नियमित सीमा सुरक्षा बैठक सञ्चालन गर्ने, सीमा क्षेत्रमा आपसी सूचना आदानप्रदान तथा समन्वय बढाउने विषयमा पनि छलफल हुने जनाइएको छ ।
टोलीमा प्रमुख जिल्ला अधिकारी गुरागाईँसँगै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउद, जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्का, राष्ट्रिय अनुसन्धान कार्यालय हुम्लाका प्रमुख मेघराज कँडेल र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा सहभागी हुनुहुन्छ ।
टोली स्थलमार्गबाट नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ, नारा लेक र हिल्सा हुँदै ताक्लाकोट पुगेको हो ।
भेटवार्ताका क्रममा चीनको पुराङ काउन्टी र हुम्लाबीच भगिनी सम्बन्ध कायम गर्ने विषयमा समेत प्रस्तावमा हस्ताक्षर हुने नाम्खा गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो । सीमा क्षेत्रमा हुनसक्ने विपद्का जोखिम तथा त्यसको व्यवस्थापनबारे पनि दुवै पक्षबीच जानकारी आदानप्रदान हुने जनाइएको छ ।








