२०८३ भदौ ३० , मंगलबार

हराउँदै तीजका पुराना भाका



यामराज बिष्ट
दैलेख। पछिल्लो समय तीज पर्व मनाउने शैलीमा परिवर्तन आएसँगै दैलेखमा तीजका पुराना भाका, मौलिक गीत र मादल बजाउने परम्परा हराउँदै गएको छ। नयाँ पुस्तामा आधुनिक गीत–सङ्गीतको प्रभाव बढ्दै जाँदा गाउँघरमा गुञ्जिने पुराना तीजका भाका ओझेलमा पर्न थालेका हुन्।
पछिल्लो समयमा भाउजू–नन्दका कुरा, सासू–बुहारीका कलह, आमा–छोरीका बिलौना र माइती घरको सम्झना वरिपरि रहेर मादलको तालमा गाउँदैरनाच्दै तीजमा गाइने भाका हराएको गएको छ । तिजको मौलिक परम्परा र संस्कृती अवलम्बनभन्दा पनि क्षणिक रमाइलो, नयाँ–नयाँ गरगहना, कपडा लगाएर को भन्दा के कम भन्ने सोँचले भड्किलोपन हुदै गएको ज्येष्ठ नागरिक अनुभव छ।
तिज मेला हेर्नका लागी नानपा ६काडाचौउर पुग्नुभएका नारायण नगरपालिका–७ की ७८ वर्षीया नन्दकला खत्रीले आफूहरूले पहिले तीजका गीत आफैँ मादल बजाउँदै गाउने गरेको बताउनुभयो। उहाँका अनुसार त्यसबेला तीजमा महिलाहरू भेला भएर मौलिक भाका गाउने, मादल बजाउने र नयाँ पुस्तालाई समेत गीत सिकाउने चलन थियो।उहाँले नारीका वर्षदिनभर मनमा सङ्गाल्हेका पिर, वेदना र घरमाइत गर्दाका सुखदुःखका खटनपटनलाई तिजका बेलामा व्यक्त गर्ने, मीठा–मीठा परिकार खाने प्रचलनका रुपमा तिजलाई लिने गरेको बताउनुभयो। “हामीले आफैँ मादल बजाउने, गीत गाउने र अरूलाई पनि सिकाउने गथ्र्यौँ,” उहाँले भन्नुभयो, “अहिले पुराना भाका गाउने र मादल बजाउने चलन कम हुँदै गएको छ।”

पहिले तीजमा गाउँघरमै भेला भएर आफ्नै मौलिक भाकामा गीत गाउने गरेको महाबु गाउँपालिका–३ की पुण्यप्रभा थापा दसौदीले बताउनुभयो। उहाँले आजकालको तिजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक र सस्तो लोकप्रिय हाँसिल हुने किसिमका गीत बजारमा आएका बताउनुभयो । उहाँले पछिल्लो समय तिज मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाले गुनासो गर्नुभयो ।

यस्तै नारायण नगरपालिका–१ की शर्मिला काकीले पुराना तीजका गीत र मादल बजाउने परम्परा नयाँ पुस्तालाई सिकाउन आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाली समाजमा आधुनिकताको प्रभावले पुराना गीतमा मौलिकताको अभाव देखिएको बताउनुभयो । उहाँले हाम्रा बाबाले छोरी लिन आएनन् पहिलाका दिनलाई स्मरण गर्दै उहाँले केही बर्ष पहिला घरको आँगनको डिलमा परालको गुन्द्री ओछ्याइ गीत चलन भएपनि पछिल्लो समयमा ठुला स्पिकर बजाएर उफ्रिएको देख्दा तिजको मौलिकता हराएको चिन्ता ब्यक्त गर्नुभयो । मौलिक संस्कृति संरक्षणका लागि स्थानीय तह र समुदायले पहल गर्नुपर्ने उहाँको भनाइ छ।

दूल्लु नगरपालिका–७ की ६२ वर्षीया गीतकुमारी उपाध्यायले पुराना तीजका भाका संरक्षण गर्न नसके आगामी पुस्ताले मौलिक तीज संस्कृतिबारे सुनेर मात्र चित्त बुझाउनुपर्ने अवस्था आउन सक्ने बताउनुभयो। उहाँले पुराना गीत सङ्कलन गरी नयाँ पुस्तालाई सिकाउने र स्थानीयस्तरमा तीजका मौलिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले तिजको रमझम सुरु हुन थालेपछि गाउँमा पालैपालो झोरा लगाउन लालटिन बालेर गएको पूरानो गीत गाँउने गरेको बताउनुभयो ।

प्रकाशित मिति : २०८३ भदौ ३० गते मंगलबार
प्रतिक्रिया