२०८३ जेठ ३१ , आइतबार

आगलागी नियन्त्रणका लागि नमुना अभ्यास



 


यामराज बिष्ट
दैलेख। दैलेखको ठाटीकाँध गाउँपालिकामा आगलागीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा विपद् व्यवस्थापनमा सम्बन्धी नमुना अभ्यास गरिएको छ ।ठाटीकाँध गाउँपालिकाको आयोजना तथा प्रहरी चौकी ठाटीकाँधको सहकार्यमा आगलागी घटनाको नियन्त्रण, खोज तथा उद्धार कार्यसम्बन्धी नमुना अभ्यास गरिएको हो।

आगलागीका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि यस्ता अभ्यास प्रभावकारी हुने गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहले बताउनुभयो । उहाँले आगलागीका कारण बर्सेनि ठूलो धनजनको क्षति हुने भएकाले विपद् व्यवस्थापन सम्बन्धी पूर्वतयारी आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले अव्यवस्थित तथा कमजोर संरचनाका घरहरू बढी भएकाले जोखिम उच्च रहेकोले आगलागीका घटना बढ्ने गरेको बताउनुभयो । उहाँले सम्भावित जोखिमबाट बच्न तथा बचाउन यस्ता अभ्यास सञ्चालन गरिएको बताउनुभयो।

यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले आकस्मिक रूपमा हुने घरेलु तथा बाह्य आगलागी नियन्त्रणमा यस्ता अभ्यास महत्वपूर्ण हुने बताउनुभयो । उहाँले ग्यास चुहावट, विद्युतीय सर्टसर्किट तथा अन्य कारणले हुने आगलागीका घटनाको नियन्त्रण र उद्धार कार्यमा आवश्यक सीप विकास गर्न अभ्यास उपयोगी हुने उल्लेख गर्नुभयो।

कार्यक्रममा पछिल्लो समय विभिन्न कारणले आगलागीका घटना बढ्दै गएकाले त्यस्ता घटनाको रोकथाम र नियन्त्रणका उपायबारे व्यवहारिक ज्ञान दिन कृत्रिम घटना अभ्यास प्रभावकारी हुने सशस्त्र प्रहरी बल नेपाल गल्म हेडक्याटर दैलेखका प्रमुख मात्रिका पौडेलले बताउनुभयो। उहाँले आगलागीका बेला विभिन्न निकायबीचको समन्वय, उद्धार कार्यको प्रभावकारिता र समुदायको भूमिकाबारे जानकारी हुनपर्ने बताउनुभयो ।

अभ्यासका क्रममा आगलागी हुँदा अपनाउनुपर्ने सुरक्षा उपाय, उद्धार तथा नियन्त्रणका विधिबारे जानकारी दिइनुका साथै प्रयोगात्मक प्रदर्शन गरिएको थियो।सहभागीहरूले विपद्जन्य घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी, जनचेतना तथा नियमित अभ्यास आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार
प्रतिक्रिया