२०८३ असार ३ , बुधबार

शिक्षण–सिकाइलाई प्रविधिसँग जोड्न शिक्षकलाई कम्प्युटर तालिम



 

यामराज बिष्ट
दैलेख। दैलेखमा शिक्षक, कर्मचारी तथा सामुदायिक सिकाइ केन्द्रका सञ्चालकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आधारभूत कम्प्युटर सीप सम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको छ । नाराययण नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक,कर्मचारीलाई लक्षित गरी शिक्षण–सिकाइलाई प्रविधिसँग जोड्न शिक्षकलाई कम्प्युटर तालिम सञ्चालन गरिएको हो ।
शिक्षालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन शिक्षकहरूलाई कम्प्युटर सम्बन्धी आधारभूत सीप प्रदान गर्न तालिम आयोजना गरिएको नारायण नगरपालिकाका शिक्षा अधिकृत सूर्यलाल पाण्डेले बताउनुभयो ।उहाँले पछिल्लो समय विद्यालयहरूमा कम्प्युटर शिक्षा विस्तार हुँदै गए पनि उपलब्ध प्रविधियुक्त उपकरणको प्रभावकारी प्रयोग हुन नसकेको उल्लेख गर्दै इमेल–इन्टरनेट, आवश्यक सामग्री डाउनलोड गर्ने, कम्प्युटर तथा प्रिन्टरमा ड्राइभर कसरी राख्ने लगायत विभिन्न विषयहरुमा शिक्षकलाई प्रविधिमा दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो।

शिक्षा अधिकृत पाण्डेले भन्नुभयो,“अहिले अधिकांश विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन भइरहेको छ । विद्यालयमा कम्प्युटर लगायतका प्रविधियुक्त उपकरण उपलब्ध भए पनि प्रयोग सम्बन्धी सीपको अभावका कारण ती उपकरण पूर्ण रूपमा उपयोग हुन सकेका छैनन् ।सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमैत्री बनाउन आवश्यक ज्ञान र सीप प्रदान गरिएको हो।”
कार्यक्रममा नगर प्रमुख लोमन शर्माले सूचना प्रविधिको प्रयोग वर्तमान समयको अपरिहार्य आवश्यकता भएको बताउनुभयो । उहाँले शिक्षक तथा कर्मचारीहरूले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिँदै प्रविधिमैत्री शिक्षा र प्रभावकारी सेवा प्रवाहका लागि यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले बिद्यालयमा रहेका कम्प्युटरहरुको सामान्य मर्मतसम्भार गरी प्रयोगमा ल्याउन नगरपालिकाले आवश्यक बजेट सहयोग गर्ने  बताउनुभयो ।

विद्यालयहरूको गुणस्तर सुधारमा शिक्षकहरूको मुख्य भूमिका रहेको नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजालले बताउनुभयो । उहाँले यस्ता खाले तालिमले दैनिक शैक्षिक तथा प्रशासनिक कार्यलाई प्रविधिमार्फत सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नगरपालिकाले शिक्षा क्षेत्रमा सूचना प्रविधिको प्रयोग विस्तार गर्दै शिक्षण–सिकाइ र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस्ता क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। तालिममा कम्प्युटर सञ्चालनका आधारभूत ज्ञान, कार्यालय प्रयोजनका सफ्टवेयरको प्रयोग, अभिलेख व्यवस्थापन तथा डिजिटल प्रविधिको उपयोगसम्बन्धी विषयमा सहजीकरण गरिएको छ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमबार
प्रतिक्रिया