
यामराज बिष्ट
दैलेख । नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको उपचारका क्रममा निधन भएको छ ।
हृदयाघात भएपछि उपचारका लागि प्रदेश अस्पताल कालागाउँमा भर्ना गरिएका शाहीको बुधबार राति १० बजे उपचारकै क्रममा निधन भएको उहाँका छोरा गणेशकुमार शाहीले बताउनुभयो । चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ निवासी शाही ८० वर्षका हुनुहुन्थ्यो ।
शाहीले नेपाली कांग्रेस दैलेखको सभापति, जिल्ला विकास समिति दैलेखको सभापति तथा कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
उहाँको निधनप्रति नेपाली कांग्रेससहित विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । शाहीको निधनले दैलेखको राजनीतिक तथा सामाजिक क्षेत्रमा क्षति पुगेको बताइएको छ ।








