न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क जोडेको हो । फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले दुई गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरी भएकोमा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो ।
खेलको ६६औँ मिनेटमा माइकल ओलिसेको पासमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि ८२औँ मिनेटमा एड्रियन राबिओटको पासमा ब्राड्ली बार्कोलाले गोल थप्दै फ्रान्सको अग्रता २–० बनाए । इन्जुरी समयको पाँचौँ मिनेटमा इब्राहिम म्बायेले सेनेगलका लागि एक गोल फर्काए पनि त्यसको एक मिनेटपछि एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको जित पक्का गरे ।
यससँगै एम्बाप्पे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन् । उनले राष्ट्रिय टोलीका लागि ९९ खेलमा ५८ गोल पूरा गर्दै ओलिभियर जिरुडको ५७ गोलको कीर्तिमान तोडेका हुन् । विश्वकपमा एम्बाप्पेको कुल गोल संख्या १४ पुगेको छ ।








