
काठमाडौँ । कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले विराटनगर किङ्सलाई चार विकेटले पराजित गरेको हो । विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९।५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
कर्णालीको जितमा कप्तान सोमपालले अविजित ६२ रन बनाए । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । बलिङतर्फ पनि चम्किएका सोमपालले चार विकेट लिए ।
एक समय ५७ रनमा पाँच विकेट गुमाएर संकटमा परेको कर्णालीलाई सोमपालले पवन सर्राफ र गुल्सन झासँग महत्त्वपूर्ण साझेदारी गर्दै जित दिलाए । उनले छैटौँ विकेटका लागि पवनसँग ६६ र सातौँ विकेटका लागि गुल्सनसँग अविजित ६४ रनको साझेदारी गरे । पवनले ३६ र गुल्सनले २८ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनाएको थियो । उसका लागि लोकेश बमले सर्वाधिक ८७ रन बनाए । उनले ५२ बलमा तीन चौका र नौ छक्का प्रहार गरे । एन्जेलो म्याथ्युजले ३१ तथा आन्द्रे रसेलले २७ रन जोडे ।
कर्णालीका सोमपालले चार विकेट लिए भने मार्क वाट र नन्दन यादवले समान एक विकेट लिए ।
यस जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । लगातार दोस्रो हार बेहोरेको विराटनगर पहिलो जितको खोजीमा रहेको छ ।शुक्रबार एनपीएलमा खेल हुने छैनन् भने शनिबार दुई खेल सञ्चालन हुनेछन् ।








