२०८३ कात्तिक १४ , शुक्रबार

प्रशासकीय भवन निर्माण अलपत्र



 

दैलेख कात्तिक १३ गते । दैलेखका दुई गाउँपालिकाका प्रशासकीय भवन निर्माण हुन सकेका छैनन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको नौ वर्ष पुग्न लाग्दा पनि ठाटीकाँध र नौमुले गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गर्न सकेका छैनन् । जिल्लाका स्थानीय तहले गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिको दोस्रो कार्यकाल पुग्दासमेत पालिकाको भवन निर्माण हुन सकेको छैन । पालिकाको भवन जग्गा प्राप्तिमा ढिलाइ र जग्गासम्बन्धी विवादका कारण भवन निर्माण प्रक्रियामा समस्या भएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

जिल्लाका गाउँपालिकाले लामो समय हुँदासमेत पालिकाको आफ्नै भवन निर्माण नहुँदा सेवा प्रवाहमा सञ्चालनमा समस्या भएको छ । ‘गाउँ गाउँमा सिंहदरबार’ को अवधारणा अनुसार स्थानीय सरकार सञ्चालनमा आए पनि हालसम्म आफ्नै प्रशासकीय भवन नहुँदा यी गाउँपालिकाले भाडाका घरबाट सेवा प्रवाह गर्दै आएका छन् । आफ्नै भवन नहुँदा कार्यालय सञ्चालनमा आर्थिक भार बढ्नुका साथै सेवा प्रवाहमा समेत समस्या हुने गरेको छ ।

ले कार्यालय सञ्चालनका लागि घर भाडामा मात्रै वार्षिक १८ लाख रुपियाँ खर्च गर्दै आएको छ । जग्गा प्राप्तिमा ढिलाइ हुँदा भवन निर्माण प्रक्रिया अघि बढाउन ढिलाइ भएको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहीले बताउनुभयो ।

उहाँले करिब सात करोड रुपियाँ लागतमा भवन निर्माण गर्ने तयारी गरिएको जानकारी दिनुभयो । यस्तै नौमुले गाउँपालिकाको प्रशासकीय भवन निर्माण पनि जग्गासम्बन्धी विवादका कारण ढिलाइ भएको छ । गाउँपालिकाले जग्गा प्राप्त गरे पनि जग्गा विवाद समाधानको प्रक्रियामा ढिलाइ हुँदा भवन निर्माण गर्न नसकेको हो । जग्गा प्राप्तिको प्रक्रियाको विवाद समाधान भएकाले भवन निर्माणको काम अघि बढाउने तयारी भइरहेको नौमुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिनुभयो ।

जिल्लाका अन्य स्थानीय तहले भने आफ्नै प्रशासकीय भवन निर्माण गरिसकेका छन् । नारायण नगरपालिका, आठबिस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका तथा भगवतीमाई गाउँपालिका, गुराँस गाउँपालिका डुङ्गेश्वर गाउँपालिका, महाबु गाउँपालिका र भैरवी गाउँपालिकाले आफ्ना भवन निर्माण गरेका छन् । जिल्लामा स्थानीय तह स्थापना भएको लामो समय बितिसक्दा पनि आफ्नै भवन निर्माण हुन नसक्नुले प्रशासनिक पूर्वाधार विकासमा चुनौती देखाएको छ

प्रकाशित मिति : २०८३ कात्तिक १४ गते शुक्रबार
प्रतिक्रिया