
दैलेख। दैलेखको दुल्लु नगरपालिकाले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ। नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार, खोप अभियान सञ्चालन, सुरक्षित मातृत्व प्रवद्र्धन तथा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वयंसेविकाहरूको योगदानको कदर गर्दै सम्मान गरेको हो।
नगरपालिका अन्तर्गत कार्यरत १३८ जना स्वास्थ्य स्वयंसेविकालाई जनही नगद १० रुपैयाँ, उत्कृष्ट कार्यसम्पादन गरी समुदायमा उदाहरणीय योगदान पु¥याएका १३ जना स्वयंसेविकालाई विशेष पुरस्कार सहित सम्मान गरिएको नगर प्रमुख भरतप्रसाद रिजालले बताउनुभयो ।उहाँले समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह, जनचेतना अभिवृद्धि तथा मातृ–शिशु स्वास्थ्य सुधारमा उल्लेखनीय योगदान पु¥याउँदै आएकाले सम्मान गरिएको बताउनुभयो । उहाँले गाउँ–बस्तीका नागरिकलाई स्वास्थ्य सेवासम्बन्धी जानकारी दिनेदेखि खोप अभियान सञ्चालन, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य निगरानी, पोषणसम्बन्धी सचेतना र विभिन्न स्वास्थ्य कार्यक्रम सफल बनाउन स्वयंसेविकाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो।
उहाँले स्वास्थ्य क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनमा स्वास्थ्य स्वयंसेविकाहरूको योगदान अविस्मरणीय रहेको भन्दै उनीहरूको सेवाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको बताउनुभयो।
कार्यक्रममा उपप्रमुख बीना कार्कीले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले स्वयंसेविकाहरूले सीमित स्रोत–साधनका बीच पनि समुदायको स्वास्थ्य सुधारका लागि निरन्तर योगदान दिँदै आएको बताउँदै बताउनुभयो। नगर उप्रमुख काकीले भन्नुभयो,“स्वास्थ्य स्वयंसेविकाहरूले समुदायको घर–घरमा पुगेर स्वास्थ्य सेवा र जनचेतना फैलाउने काम गर्नुभएको छ। उहाँहरूको समर्पण र सेवाभावका कारण स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सम्भव भएको छ।”
कार्यक्रममा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बिरामीको उद्धार तथा सेवा प्रवाहलाई सहज बनाउन विभिन्न स्वास्थ्य संस्थालाई स्ट्रेचरसमेत वितरण गरिएको थियो। नगरपालिकाले स्वास्थ्य पूर्वाधार र सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै आवश्यक सामग्री व्यवस्थापनमा जोड दिँदै आएको जनाएको छ।
नगरपालिकाले यस्ता सम्मान तथा प्रोत्साहनमूलक कार्यक्रमले स्वयंसेविकाहरूको मनोबल उच्च बनाउनुका साथै आगामी दिनमा समुदायस्तरमा अझ प्रभावकारी ढंगले स्वास्थ्य सेवा प्रवाह गर्न थप ऊर्जा र हौसला मिल्ने विश्वास व्यक्त गरेको छ।








