२०८३ असार ५ , शुक्रबार

निःशुल्क माटो परीक्षणबाट किसान लाभान्वित



 

रामकृष्ण कठायत
दैलेख, असार ५गते। दैलेखको भैरबी गाउँपालिकाले कृषकको उत्पादन वृद्धि तथा माटोको स्वास्थ्य सुधार गर्ने उद्देश्यले नि:शुल्क माटो परीक्षण शिविर सञ्चालन गरेको छ। शिविरमा वडा नं. १ देखि ७ सम्मका कृषकका खेतबारीमै पुगेर माटो परीक्षण गरिएको हो।

गाउँपालिकाका अनुसार शिविरमा २१९ जना कृषकका ३९१ वटा माटोका नमूना परीक्षण गरिएको छ। परीक्षण सम्पन्न भएपछि प्रत्येक कृषकलाई माटोको स्वास्थ्य अवस्थासम्बन्धी प्रमाणपत्र समेत वितरण गरिएको थियो।
प्राविधिक टोलीले कृषकका खेतबारीमै पुगेर माटोको पीएच, नाइट्रोजन, फस्फोरस र पोटासको अवस्था परीक्षण गरेको थियो। परीक्षणका क्रममा अधिकांश नमूनामा माटोको अम्लीयपन देखिएको जनाइएको छ।

शिविरमा  ३९१ नमूनामध्ये ३८२ वटा नमूनामा अम्लीयपन (एसिडिटी) भेटिएको र तीमध्ये १२१ वटा नमूनामा माटोको गुणस्तर सुधारका लागि कृषि चुन प्रयोग गर्न सिफारिस गरिएको गाउँपालिकाले जनाएको छ।

माटोको अम्लीयपन न्यूनीकरण गरी उत्पादनशीलता बढाउने उद्देश्यले गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि चुन उपलब्ध गराउने योजना अघि सारेको छ। साथै, माटो स्वास्थ्य सुधारका लागि कोसेबाली (मास) को बीउ वितरण लगायतका कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

प्रकाशित मिति : २०८३ असार ५ गते शुक्रबार
प्रतिक्रिया