हुम्ला ।हिमाली जिल्ला हुम्लाको जिल्ला प्रशासन कार्यालयमा २३ हजार ३३३ वटा राष्ट्रिय परिचयपत्र आइपुगेका छन्। गत असोजमा गृह मन्त्रालयका पाँच टोलीले जिल्लाका सातवटै गाउँपालिकाका ४२ वडामा पुगेर संकलन गरेको विवरणका आधारमा परिचयपत्र तयार गरिएको हो।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार परिचयपत्र वितरण कार्य सुरु भइसकेको छ। परिचयपत्र बुझ्न सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने भएकाले सेवाग्राहीलाई सकेसम्म छिटो कार्यालयमा आउन आग्रह गरिएको छ।
हाल दैनिक ५०–६० जना सेवाग्राही परिचयपत्र लिन आउने गरेका छन् भने हालसम्म ३ हजार ४४ वटा परिचयपत्र वितरण भइसकेका छन्। जिल्ला प्रशासन कार्यालयले वितरणलाई थप प्रभावकारी बनाउन सूचना जारी गर्ने तथा गाउँपालिकासँग समन्वय गर्ने जनाएको छ।
प्रकाशित मिति : २०८३ असार ६ गते शनिबार








