
यामराज बिष्ट
दैलेख। लामो समयदेखि तलब नपाएको भन्दै दैलेखको ठाटीकाँध गाउँपालिकामा कार्यरत पालिका अनुदान शिक्षक,बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा कार्यालय सहयोगीहरू तीन दिनदेखि धर्नामा छन् । गाउँपालिका भित्रका ३९सामुदायिक विद्यालयका शिक्षकले लामो समयदेखि तलब नपाएको भन्दै विद्यालय बन्द गरेर धर्नामा बसेका हुन् ।
संयुक्त शिक्षक तथा विद्यालय कर्मचारी संघर्ष समितिका अनुसार पालिका अनुदान शिक्षकले ११ महिनादेखि, बालविकास सहजकर्ताले १४ महिनादेखि र विद्यालय कर्मचारीले १९ महिनादेखि तलब पाएका छैनन्। गाउँपालिकाले विभिन्न समयमा तलब भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन नभएको ठाटिकाँधगाँउपालिका अनुदान संघर्ष समितिका अध्यक्ष कमलकुमार खत्रीले बताउनुभयो। उहाँले माग पुरा नभए सम्म समितिले विद्यालयको पठनपाठन प्रभावित बनाउने, शिक्षा शाखासहित गाउँपालिकाका विभिन्न प्रशासनिक कार्यालयमा तालाबन्दी गर्ने तथा आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय गरेको बताउनुभयो । उहाँले समस्या समाधान नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।उहाँले भन्नुभयो “लामो समयदेखि तलब नपाउँदा शिक्षक तथा कर्मचारीको दैनिक जीवनयापन नै कठिन बनेको छ। पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि विद्यालय बन्द गरेर आन्दोलन गर्न बाध्य भएका हौँ ।”
यता गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नेत्रबहादुर थापाले शिक्षक तथा कर्मचारीको तलब भुक्तानीका लागि पहल भइरहेको बताउनुभयो । उहाँले लामो समयदेखि तलब नपाउँदा शिक्षकहरू आक्रोशित बनेका छन् र तलब नपाउँदासम्म विद्यालय सञ्चालनमा फर्किन तयार नभएको बताउनुभयो । उहाँले दुई महिनी भूक्तानी दिने निर्णय भएपनि शिक्षकले सबै तलब पाउने माग गरेपछि समस्या भएको बताउनुभयो । उहाँले आन्दोलनका कारण विशेषगरी विद्यार्थीहरूको पढाई प्रभावित भएको उल्लेख गर्नुभयो।शिक्षा अधिकृत थापाले भन्नुभयो“शिक्षक तथा कर्मचारीले लामो समयदेखि पारिश्रमिक नपाउँदा समस्या हुनु स्वाभाविक हो। गाउँपालिकाले समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको छ ।”
विद्यालय बन्द हुँदा हजारौँ विद्यार्थीको पढाइ प्रभावित भएको छ भने अभिभावक र सरोकारवालाहरूले पनि समस्या छिटो समाधान गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्। संघर्ष समितिले शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताको श्रमको सम्मान गर्दै तत्काल तलब भुक्तानीको व्यवस्था गर्न माग गरेको छ। उनीहरूले आफ्नो आन्दोलनलाई रोजगारी र बाँच्न पाउने अधिकारसँग जोडिएको विषयका रूपमा व्याख्या गर्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन्।
गाउँपालिकामा कार्यरत पालिका अनुदान शिक्षक,बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा कार्यालय सहयोगीहरू गरि९६जनाले लामो समय देखि तलब पाएका छैनन् ।पालिकाले करिब २करोड८५लाख ७८हजार शिक्षकहरु तलब दिन बाकी रहेको छ ।








