
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–५बस्तीकोट स्थित रहेको जनता माध्यमिक विद्यालयमा पक्की भवन निर्माण भएपछि पठनपाठन कार्य सहज बनेको छ । यसअघि जीर्ण तथा साँघुरो भवनबाट विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था रहेकामा नयाँ पक्की भवन निर्माण भएपछि विद्यार्थी तथा शिक्षकलाई अध्ययन–अध्यापनमा सहज भएकोे छ।
विद्यालयमा नयाँ भवन निर्माणले शैक्षिक गतिविधि व्यवस्थित हुनुका साथै विद्यार्थीलाई सुरक्षित र सहज वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त भएको विद्यालयका प्रधानाध्यापक..जनकबहादुर कार्कीले बताउनुभयो ।उहाँले पहिले जीर्ण भवनका कारण कक्षाकोठा व्यवस्थापनमा समस्या हुने गरे पनि अहिले पर्याप्त भौतिक पूर्वाधार उपलब्ध भएपछि शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी बनेकोे बताउनुभयो। उहाँले कक्षा बालविकासदेखि कक्षा १०सम्म पठनपाठन हुँदै आइरहेको यस विद्यालयमा भवन अभावमा पठनपाठनमा निकै समस्या रहेको बताउनुभयो ।उहाँले शैक्षिक सुधारका लागि योजनाबद्धरुपमा काम भइरहेकाले यसबाट गुणात्मक परिणाम लिन सबै जिम्मेवार बन्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।
विद्यालयको भवन निर्माणका लागि ४५ लाख रुपैयाँ खर्च गरिएका सामाजिक विकास कार्यालय दैलेखका कार्यालय प्रमुख लोकेन्द्र बहादुर विष्टले बताउनुभयो । उहाँले भवन निर्माणसँगै विद्यालयको भौतिक पूर्वाधार सुदृढ भएको र शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
विद्यालयका अनुसार ३ सय ८२ जना विद्यार्थी अध्ययनरत छन्। नयाँ भवन सञ्चालनमा आएपछि विद्यालयको शैक्षिक वातावरण थप सुधार भएको स्थानीयवासी तथा अभिभावकले बताएका छन् ।








