
दैलेख, असार ६ गते । व्यवसायिकता तथा उत्प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको “हामी सबै, संग संगै” कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालयले दैलेख सदरमुकाम नारायण नगरपालिकामा पर्ने बटुक भैरव वेलासरपुर मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ। प्रहरीले नप्रतिनिधि तथा स्थानीय नागरिकहरूको समेत सहभागितामा मन्दिर सरसफाई गरेको हो ।
सरसफाइ कार्यक्रममार्फत मन्दिर परिसरलाई स्वच्छ र सफा बनाउनुका साथै समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको प्रहरीले जनाएको छ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, स्थानीयवासी र प्रहरी कर्मचारीहरूले सामूहिक रूपमा मन्दिर परिसरको सरसफाइ गरेका थिए। स्थानीयवासीले यस्ता सामाजिक तथा जनहितका कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखले आगामी दिनमा पनि समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।








