२०८३ असार ११ , बिहीबार

दैलेखका चार पालिकाको निति तथा कार्यक्रमः कृषि, पर्यटन र पूर्वाधारमा जोड



यामराज बिष्ट
दैलेख । जिल्लाका ४ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। स्थानिय तहले स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन तथा आधारभूत पूर्वाधार विस्तारमार्फत समग्र विकासलाई गति दिने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएका हुन् ।
नारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४का लागि कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १८औँ नगरसभा अधिवेशनमार्फत सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा समग्र विकास, पूर्वाधार निर्माण, कृषि उत्पादन वृद्धि, खानेपानी तथा आधारभूत सेवाको विस्तारलाई केन्द्रमा राखिएको छ ।
नगरपालिकाका प्रवक्ता जनक न्यौपानेका अनुसार आगामी वर्ष पूर्वाधार विकास, स्मार्ट नगर निर्माण, कृषि आधुनिकीकरण, स्थानीय आर्थिक विकास तथा पशुपालन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। कृषि क्षेत्रअन्तर्गत स्थानीय आर्थिक विकास अवधारणाअनुसार प्रतिस्पर्धात्मक लाभका आधारमा कृषि, पशुपालन तथा साना उद्यमलाई प्रवद्र्धन गरिने नीति लिइएको छ। उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न बाली विकास, जैविक खेती, माटोको स्वास्थ्य सुधार, बीउ संरक्षण तथा स्थानीय बाली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । नगरपालिकाले “स्वस्थ माटो, सुरक्षित तरकारी अभियान” सञ्चालन गरी जैविक खेती विस्तार गर्ने तथा कृषकलाई डिजिटल कृषि प्रविधिसँग जोड्ने योजना अघि सारेको छ।
त्यसैगरी, नगरभित्रका बाँझो जमिनको उपयोग बढाउन ‘नगर भूमि बैंक’ अवधारणा लागू गरी सहकारी तथा सामूहिक खेतीलाई प्रोत्साहन गरिने भएको छ। पशुपन्छीमा देखिने संक्रामक तथा महामारीजन्य रोग नियन्त्रणका लागि नियमित खोप कार्यक्रम, पशु स्वास्थ्य शिविर तथा निःशुल्क उपचार सेवा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
यसैबीच, महाबु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ मा नागरिकको जीवनस्तर उकास्ने तथा सुशासन कायम गर्ने लक्ष्यसहित उत्पादन वृद्धि, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकासमा केन्द्रित योजनाहरू कार्यान्वयन गर्ने जनाएको छ। गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले उत्पादन र रोजगारी अभिवृद्धिसँगै सुशासनलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो। पालिकाले स्थानीय स्रोत, सीप र प्रविधिको अधिकतम उपयोग गर्दै दिगो विकास, रोजगारी सिर्जना र नागरिकमैत्री सेवा प्रवाहलाई आगामी वर्षको मुख्य प्राथमिकताका रूपमा अघि सारेको जनाएको छ।
यता दुल्लु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ मा“एक विद्यार्थी, एक फलफूल बिरुवा” अभियान सञ्चालन गर्ने भएको छ। १९औँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा वातावरण संरक्षण तथा हरित विकासलाई टेवा पु¥याउने उद्देश्यले उक्त कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिने उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा आर्थिक विकासतर्फ कृषि तथा खाद्य सुरक्षा, पशुपंक्षी, रोजगार, उद्योग–उद्यमशिलता, सहकारी, निजी क्षेत्र, वित्तीय पहुँच, पर्यटन तथा सांस्कृतिक संरक्षणलाई प्राथमिकता दिइएको छ।

गुराँस गाउँपालिकाको १८औँ अधिवेशनमा आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम गरेको छ। कार्यक्रममा कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। कृषि, फलफूल तथा बेमौसमी खेतीको विस्तारमार्फत आयआर्जन र रोजगारीका अवसर बढाउने लक्ष्य लिइएको छ। कर्णाली राजमार्ग र सुर्खेत–दैलेख सडकको पहुँचले स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, गुराँसे टावर, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको उपयोग गरी पर्यटन प्रवद्र्धन गर्ने योजना समेत अघि सारिएको छ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार
प्रतिक्रिया