२०८३ असार ११ , बिहीबार

नारायण नगरपालिकाको ६४ करोड बढीको बजेट पारित, कृषि, पूर्वाधार र सुशासनमा विशेष जोड



 


दैलेख, असार ८गते । नारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६४ करोड १८ लाख ६२ हजार ६ सय रुपैयाँको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक गरेको छ।
“समृद्ध नगर, आत्मनिर्भर नगरबासी, स्वच्छ नगर, सुखी नगरवासी” भन्ने मूल आकांक्षालाई आत्मसात गर्दै नगरपालिकाले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ।

नगरसभा सम्पन्न भएपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा नारायण नगरपालिकाका प्रवक्ता जनकप्रसाद न्यौपानेले आगामी आर्थिक वर्षको बजेट कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखेर तयार गरिएको बताउनुभयो। उहाँले नगरपालिकाले स्मार्ट नगर पूर्वाधार निर्माण, नगर यातायात गुरुयोजना तयार गर्ने, नगर चक्रपथ निर्माण, ल्यान्डफिल साइट स्थापना गरी फोहोरलाई स्रोतमा रूपान्तरण गर्ने, खानेपानी, सिँचाइ तथा पहिरो नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ। यस्तै जलवायु उत्थानशील योजना निर्माण, स्थानीय आर्थिक विकास कार्ययोजना कार्यान्वयन तथा दूध, मासु र तरकारी उत्पादनमा आत्मनिर्भर नगरपालिका बनाउने लक्ष्य अघि बताउनुभयो।

यस्तै तप्ता थापाले बजेटले नगरको समग्र विकासलाई नयाँ गति दिने बताउनुभयो। कृषि उत्पादन वृद्धि, खानेपानी, सडक पूर्वाधार, महिला उद्यमशीलता तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उहाँले बजेट कार्यान्वयनबाट नगरवासीले प्रत्यक्ष लाभ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजालले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले बजेट तथा कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो। उहाँले सीमित स्रोत–साधनका बाबजुद नगरवासीको आवश्यकता सम्बोधन गर्ने गरी बजेट ल्याइएको र यसको प्रभावकारी कार्यान्वयनमा नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

यसैगरी रैथाने बाली संरक्षण तथा बीउ बैंक स्थापना, ज्येष्ठ नागरिक तथा दीर्घरोगीसँग नगर प्रमुख कार्यक्रम, गर्भवती महिलासँग नगर उपप्रमुख कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम तथा एकल महिला–पुरुषलाई विशेष सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
महिला उद्यमशीलता विकासतर्फ नगरपालिकाले नवप्रवर्द्धन कार्यक्रममार्फत ५०० जना महिलालाई व्यवसायिक उद्यमी बनाउने लक्ष्य राखेको छ। शिक्षा क्षेत्रअन्तर्गत स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई वितरण गरिने, सबै विद्यालयमा कम्प्युटर तथा कम्प्युटर फोकल शिक्षकको व्यवस्था गरिने र दशवर्षे नगर शिक्षा योजना निर्माण गरिने नीति लिइएको छ।
नगरपालिकाले “एक घर, एक धारा” अभियानलाई पूर्ण कार्यान्वयन गर्दै शतप्रतिशत नागरिकलाई खानेपानी पहुँच पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ। विपद् व्यवस्थापन कोषलाई थप प्रभावकारी बनाउने, आपत्कालीन कार्य सञ्चालन केन्द्रका लागि आवश्यक सामग्री व्यवस्थापन गर्ने तथा शून्य बेरुजु पालिका निर्माण अभियान सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।

प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार
प्रतिक्रिया