
दैलेख, असार ९गते । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले जिल्लाका उद्यमीहरूलाई करिब २० लाख रुपैयाँ बराबरका मेसिन तथा औजार हस्तान्तरण गरेको छ।कार्यालयले मुख्यमन्त्री दलित आय आर्जन कार्यक्रम अन्तर्गत जिल्लाभरबाट आवेदन दिएका मध्ये छनोट भएका ३३ जना उद्यमीलाई विभिन्न व्यवसाय सञ्चालनका लागि आवश्यक मेसिन तथा औजार वितरण गरिएको हो।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख शंकर थापाका अनुसार क्यामेरा, ल्यापटप, कम्प्युटर सेट ,हाते ट्याक्टर ,होटल व्यवसायका लागी फ्रिज, सिलाइ–कटाइ, ब्युटी पार्लर लगायतका उद्योग तथा व्यवसायका लागि आवश्यक मिल, तथा अन्य सामग्री हस्तान्तरण गरिएको बताउनुभयो। उहाँले स्थानीय उद्यम विकास र उत्पादनका लागि घरेलुले राम्रो काम गरेको र स्वयम उद्यमीले त्यसको सही सदुपयोग गर्न सके आर्थिक श्रोत विकासमा पनि सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा नारायण नगरपालिकाकी उपप्रमुख तप्ता कुमारी थापाले मेसिन तथा औजार वितरणले उद्यमीलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्राप्त सामग्रीको सही सदुपयोग गरी व्यवसाय विस्तार गर्न आग्रह गर्नुभयो।

त्यस्तै, जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले अनुदानका सामग्री केवल प्राप्तिका लागि नभई उत्पादन र आयआर्जन वृद्धिका लागि प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले आधुनिक प्रविधिको उपयोग गर्दै स्वरोजगारसँगै अन्य व्यक्तिलाई पनि रोजगारी सिर्जना गरी आर्थिक समृद्धिमा योगदान पुर्याउन उद्यमीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी उद्यमीहरूले प्राप्त मेसिन तथा औजारले आफ्नो व्यवसाय सञ्चालन र विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।








