२०८३ असार ११ , बिहीबार

रोनाल्डोको कीर्तिमानी प्रदर्शनमा पोर्चुगलको शानदार जित



 

पोर्चुगलले विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो खेलमा प्रभावशाली प्रदर्शन गर्दै शानदार जित दर्ता गरेको छ। टोलीको जितमा कप्तान तथा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै महत्वपूर्ण योगदान दिएका छन्।

रोनाल्डोले खेलको छैटौँ र ३९औँ मिनेटमा गोल गरेका थिए। यी गोलसँगै उनी विश्वकपका सबै ६ संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। पोर्चुगलका लागि नुनो मेन्डेस, उज्बेकिस्तानका गोलरक्षक अब्दुभोहिद नेमातोभको आत्मघाती गोल तथा राफाएल लियाओले पनि एक–एक गोल थपेका थिए।

यससँगै रोनाल्डोको विश्वकपमा व्यक्तिगत गोल संख्या १० पुगेको छ। उक्त उपलब्धिसँगै उनी पोर्चुगलका लागि विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत बनेका छन्।

यता, समूह ‘एल’ अन्तर्गत इंग्ल्यान्ड र घानाबीच भएको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ। अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा इंग्ल्यान्डले ७९ प्रतिशत समय बल नियन्त्रणमा राखे पनि गोल गर्न भने सफल हुन सकेन।

दुई खेलबाट चार अंक जोडेको इंग्ल्यान्ड नकआउट चरण प्रवेशको नजिक पुगेको छ।

यसैबीच, क्यानडाको टोरन्टो स्टेडियममा पनामा र क्रोएसियाबीचको खेल जारी रहेको छ। साथै, आज बिहान पौने ८ बजे मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा डीआर कंगो र कोलम्बियाबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधबार
प्रतिक्रिया