
दैलेख, असार ११ गते । भगवतीमाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ५१ करोड ३१ लाख ६८ हजार ५ सय रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको १९औँ अधिवेशनमा प्रस्तुत बजेटले कृषि, रोजगार, सुशासन, पूर्वाधार, पर्यटन तथा शिक्षालाई प्राथमिकतामा राखेको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल राजस्व तथा आय ५१ करोड ३१ लाख ६८ हजार ५ सय रुपैयाँ अनुमान गरेको छ। कुल आयमध्ये आन्तरिक स्रोतबाट ४२ लाख ५८ हजार ५ सय रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। नेपाल सरकार, कर्णाली प्रदेश सरकार तथा राजस्व बाँडफाँटबाट ९ करोड ४३ लाख ७१ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। यस्तै अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत नेपाल सरकारबाट ३५ करोड ५२ लाख रुपैयाँ र कर्णाली प्रदेश सरकारबाट ५ करोड २३ लाख ३१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
बजेटमा चालुतर्फ ३७ करोड ५३ लाख ३३ हजार रुपैयाँ र पुँजीगततर्फ १३ करोड ७८ लाख ३५ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ।
कृषिको व्यवसायीकरण, आधुनिकीकरण तथा विविधीकरणका लागि ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पशु सेवा केन्द्रको पशु ल्याब सञ्चालन तथा सेवा विस्तारका लागि २३ लाख ५० हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ। दलित तथा विपन्न नागरिक लक्षित उज्यालो कार्यक्रमका लागि २ लाख रुपैयाँ छुट्याइएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १५ लाख रुपैयाँ तथा मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत श्रम रोजगार बैंक सञ्चालनका लागि ११ लाख रुपैयाँ विनियोजन गरिएको छ। नेपाल सरकार र गाउँपालिकाको लागत साझेदारीमा सञ्चालन हुने लघु उद्यम विकास कार्यक्रमलाई समेत निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले बजेटको मुख्य लक्ष्य योजनाबद्ध तथा दिगो विकासमार्फत आर्थिक–सामाजिक रूपान्तरणसहित स्वस्थ, समृद्ध र सु–संस्कृत समाज निर्माण गर्ने रहेको जनाएको छ। बजेटका उद्देश्यहरूमा कृषि आधुनिकीकरण, रोजगार तथा आयआर्जनका अवसर सिर्जना, आधुनिक तथा भूकम्प प्रतिरोधी संरचना निर्माण, स्थानीय राजस्व प्रणाली सुधार, जलवायु तथा वातावरणमैत्री शासन प्रणालीको कार्यान्वयन, धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र विकास, लगानीमैत्री वातावरण निर्माण तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धन रहेको गाँउपालिका प्रमुख प्रमासकीय अधिकृत बमबहादुर केसिले बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षका प्राथमिकतामा श्रम रोजगार बैंक तथा रोजगारमूलक कार्यक्रम सञ्चालन, सुशासन र सेवा प्रवाह सुधार, आन्तरिक आय संकलन वृद्धि, जलवायु तथा बालमैत्री स्थानीय शासनको कार्यान्वयन, ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रको संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण, लगानी प्रवर्द्धन तथा व्यावसायिक शिक्षाको विकासलाई समेटिएको बताउनुभयो।
गाउँपालिकाले सार्वजनिक गरेको बजेटले कृषि उत्पादन वृद्धि, रोजगार सिर्जना, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासमार्फत स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।








