कालीकोट । कर्णाली करिडोर अन्तर्गत सान्नीत्रिवेणी–आम्तडा सडकखण्डको सिस्नेगडा क्षेत्रमा माथिबाट खसेको ढुङ्गा लागेर एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रास्कोट नगरपालिका–८, फुकोट बाखरकोटका अन्दाजी २४ वर्षीय बाबुराम टमाटा रहेका छन्।
स्थानीय कमलराज बरालका अनुसार असार १० गते राति करिब ११ बजे सान्नीत्रिवेणी गाउँपालिका–३ स्थित कर्णाली करिडोरको सिस्नेगडामा लुईयाटाबाट रकु जोड्ने भित्री सडकमा डोजरले सडक कटिङ गरिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर टमाटा गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी हिमबहादुर खत्रीका अनुसार टमाटासहित करिब १० जना युवाको समूह रास्कोटबाट सान्नीत्रिवेणी गाउँपालिका–१ शेरी ज्युलामा लाग्ने जात्रा हेर्न जाँदै थियो। सोही क्रममा माथिबाट खसेको ढुङ्गा टाउकोमा लाग्दा उनी गम्भीर घाइते भएका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट सान्नीघाटबाट प्रहरी सहायक निरीक्षक डम्मरदत्त जोशीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
घाइते टमाटालाई राति नै कर्णाली प्रदेश ०२–००२ झ २६९ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक रणनीतिक अस्पताल स्युना, रास्कोट ९गौतुकोट० पठाइएको थियो। उपचारकै क्रममा आज बिहान ६ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
उक्त क्षेत्रमा निर्माण व्यवसायी गणेश आचार्यको अभियान कन्स्ट्रक्सन प्रालिले स्थानीय प्रशासनसँग समन्वय गरी असार २ गतेदेखि रातिको समयमा सवारी आवागमन बन्द गरेर सडक निर्माणको काम सञ्चालन गर्दै आएको जनाएको छ।








