
यामराज बिष्ट
दैलेख । दैलेखमा असारको दोस्रो सातासम्म २८.९३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास कार्यालय दैलेखका अनुसार जिल्लामा यस वर्ष कुल ७ हजार ९२५ हेक्टर क्षेत्रफलमा धान खेती हुने लक्ष्य रहेकामा हालसम्म २ हजार २सय ९३ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो।
जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ करिब ११ प्रतिशतले घटेका कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले बताउनुभयो । उहाँले जिल्लाका प्रमुख धान उत्पादन क्षेत्रहरू, नौमुले गाउँपालिका तथा भगवतीमाई गाउँपालिकामा तुलनात्मक रूपमा बढी रोपाइँ भएको जानकारी दिनुभयो।उहाँले यस वर्ष मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा औसतभन्दा कम वर्षा भएको छ, जसका कारण धान रोपाइँ प्रभावित बनेको बताउनुभयो । उहाँले मौसम अनुकूल रहे आगामी केही साताभित्र बाँकी क्षेत्रफलमा पनि रोपाइँ सम्पन्न हुने विश्वास गरिएकोे बताउनुभयो।

यसैबीच, २३औँ राष्ट्रिय धान दिवस ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने राष्ट्रिय नाराका साथ दैलेखमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। राष्ट्रिय धान दिवस कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज शाहीले धान उत्पादन वृद्धि, जलवायुमैत्री कृषि प्रविधिको विस्तार तथा कृषिमा आत्मनिर्भरता हासिल गर्न किसानको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले खाद्यान्न उत्पादनमा जिल्ला आत्मनिर्भर बन्न सबै पक्षको सहकार्य सहयोगको आवश्यक रहेको बताउनुभयो ।

युवालाई कृषिमा आकर्षित गर्ने उद्देश्यका साथ स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै कृषकको श्रम, पसिना र योगदानको सम्मान गर्नुपर्ने नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले बताउनुभयो । उहाँले किसानहरूलाई प्रविधिको पहुँचमा पु¥याउन र कृषिमा आत्मनिर्भर बनाउन स्थानियले सहकारले विशेष प्राथमिकता दिएको बताउनुभयो ।कार्यक्रममा किसान, कृषि प्राविधिक, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।








