२०८३ साउन १२ , मंगलबार

सुर्खेतलाई हराउँदै सल्यानले जित्यो पञ्चकोशी कप



 

यामराज बिष्ट
दैलेख। दैलेखको दुल्लुमा सम्पन्न कर्णाली प्रदेशस्तरीय पञ्चकोशी कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सल्यानले जितेको छ। कर्णाली प्रदेश भलिबल संघको आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा बुधबार भएको फाइनल खेलमा सुर्खेतलाई हराउँदै सल्यानले उपाधि जितेको हो । उपाधिसँगै फाइनलमा सुर्खेतलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको प्रतियोगिताका विजेता सल्यानले नगद ३ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त सफल भएको होे।
यस्तै, रुकुम पश्चिम तेस्रो तथा कालिकोट चौथो स्थान हासिल गर्न सफल भयो। उपविजेता सुर्खेतले २ लाख रुपैयाँ, तेस्रो हुने रुकुम पश्चिमले १ लाख रुपैयाँ तथा सान्त्वना स्थानमा रहेको कालिकोटले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
दूल्लुमा तिन दिन सम्म सञ्चालन गरिएको प्रतियोगितामा कर्णाली प्रदेशका भरिका १० टोलीको सहभागिता रहेको कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठले बताउनुभयो । उहाँले प्रदेशमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा जिल्लाबीच आपसी सद्भाव बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।
पुरस्कार वितरण तथा समापन समारोहमा दुल्लु नगरपालिकाका नगर प्रमुख भरत रिजालले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रदेशस्तरीय प्रतियोगिताले स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने बताउनुभयो।उहाँले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नेपाल सरकारको नारा नै रहेको उल्लेख गर्दै उहाँले खेलाडीहरूले पालिकाको इज्जत, प्रतिष्ठा र शान बढाएको बताउदै खेलाडीहरूलाई व्यवसायिक ढंगबाट अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले जिल्लालाई खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्न नगरपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार
प्रतिक्रिया