
दैलेख, असार १८गते ।सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतरा क्षेत्रमा बुधबार बिहान करिब ११ः३० बजे एउटा फोर्स गाडी कर्णाली नदीमा खसेको हो ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको दैलेखका प्रमुख डीएसपी श्रवणकुमार विकले बताउनुभयो । उहाँले घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पाल्तडाबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा उद्धार सामग्रीसहित ३५ जना प्रहरीको टोली घटनास्थलतर्फ खटिएको बताउनुभयो।
दैलेख प्रहरीका अनुसार हालसम्म नाम, थर र ठेगाना नखुलेका एक पुरुषलाई भीरमा अड्किएको अवस्थामा फेला पारिएको छ। उनलाई उद्धार गरी सडकतर्फ ल्याउने कार्य भइरहेको छ। प्रहरीका दुर्घटनाबारे थप विवरण तथा सवारीमा सवार यात्रुको संख्या र क्षतिको यकिन हुन सकेको छैन ।








