
यामराज बिष्ट
दैलेख । दैलेखको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य श्रीस्थान–नाभिस्थान सडक निर्माण लामो समयदेखि अलपत्र पर्दा स्थानीय बासिन्दा तथा पर्यटक सास्ती खेप्न बाध्य भएका छन् । सडक
स्तरोन्नति नहुँदा यहाँ सुक्खायाममा अत्यधिक धुलो र वर्षायाममा हिलोको समस्या बढेको छ ।
मध्यपहाडी राजमार्गनजिकको भिरखेतदेखि श्रीस्थान हुँदै नाभिस्थानसम्मको सडकखण्डमा दैनिक रूपमा सवारीसाधनको आवागमन हुने भए पनि निर्माण अघि नबढ्दा सडक धुलाम्मे बनेको छ । यसले सवारीचालक, यात्रु तथा सडकछेउका बासिन्दाको जनजीवन प्रभावित भएको स्थानीयको गुनासो छ ।
सडक निर्माणमा भएको ढिलाइका कारण उड्ने धुलो ले यात्रु र आसपासका बासिन्दाको स्वास्थ्यमा समेत प्रतिकूल असर पारेको स्थानीय नवीन यो गीले बताउनुभयो । संरचना निर्माणमा भएको ढिलाइका कारण यहाँ आउने पर्यटकले धुलोको सास्ती खेप्नु परेको छ । पर्याप्त सुविधा नहुँदा बसाइँ अवधि छोटिने गरेको र यात्राको आकर्षणसमेत घट्ने गरेको पर्यटकको भनाइ छ । पर्यटन क्षेत्र जाने मुख्य स्थान मानिएको यस्ता सडकखण्डलाई पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउन र यस्ता स्थानको आकर्षण कायम राख्न पूर्वाधार निर्माणमा हेलचेक््रयाइँ गर्न नहुने स्थानीयवासीको भनाइ छ ।
बजेट अभावका कारण सडक निर्माण अपेक्षित रूपमा अघि बढ्न नसकेको भैरवी गाउँपालिका–१ का वडाध्यक्ष डम्बरबहादुर कार्कीले बताउनुभयो । पालिका र वडाको सीमित स्रोतसाधनका कारण निर्माणमा कठिनाइ भएको उल्लेख गर्दै उहाँले चालु आर्थिक वर्षको नीति तथा कार्यव्रmममा सडक निर्माणलाई प्राथमिकताका साथ समेटिएको जानकारी दिनुभयो ।
साथै पञ्चकोशी क्षेत्रको पर्यटन प्रवर्धनका लागि विशेष योजना अघि सारिने उहाँको भनाइ छ ।








