
दैलेख। नारायण नगरपालिका–११ को वडा कार्यालयमा आर्थिक वर्ष २०८२र८३ मा सञ्चालन भएका सेवा प्रवाह, विकास निर्माण तथा योजनाको कार्यान्वयनबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयबाट प्रवाह गरिएका सेवा, सम्पन्न भएका विकास निर्माणका काम तथा आगामी योजनाबारे जानकारी दिन सार्वजनिक सुनुवाइ कार्यक्रम। सहभागी स्थानीयवासीले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सुझाव दिएका थिए।
वडा कार्यालयले सीमित स्रोतसाधनका बीच पनि नागरिकलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने प्रयास गरिरहेको वडाध्यक्ष दिर्घ बहादुर मल्लले बताउनुभयो। उहाँले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखी योजनाहरू कार्यान्वयन गरिएको उल्लेख गर्दै नागरिकका सुझावलाई आगामी योजनामा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस्तै सेवाग्राही दानबहादुर महताराले वडा कार्यालयबाट नागरिकले सहज रूपमा सेवा पाइरहेको बताउँदै विकास निर्माणका कामहरू पनि आवश्यकताका आधारमा सञ्चालन भइरहेको प्रतिक्रिया दिनुभयो। उहाँले आगामी दिनमा गुणस्तरीय विकास निर्माणसँगै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, महिला समूह, युवा तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। सार्वजनिक सुनुवाइमार्फत नागरिकका गुनासा, सुझाव र जिज्ञासाको सम्बोधन गर्दै वडा कार्यालयले जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको थियो।








