२०८३ साउन १३ , बुधबार

असारे विकासले यात्रु र यातायात व्यवसायीलाई सास्ती



यामराज बिष्ट
दैलेख । जिल्लामा असार मसान्तअघि विकास योजनाको बजेट खर्च सक्ने हतारमा सडक निर्माण कार्य तीव्र पारिँदा यात्रु, सवारी चालक तथा यातायात व्यवसायीले सास्ती भोग्नुपरेको छ। जिल्लाका अधिकास योजना वर्षौँदेखि अलपत्र रहेका सडकमा असार लागेपछि मात्रै निर्माण सुरु गर्ने प्रवृत्तिका कारण सर्वसाधारण धुलो, हिलो र जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदा आउजाउ गर्न समस्या भएको छ ।
वर्षायाममै सडक निर्माण तथा कालोपत्रे गरिने प्रवृत्तिले निर्माणको गुणस्तरमाथि पनि प्रश्न उठ्ने गरेको छ। निर्माणका क्रममा लामो समयसम्म सवारी साधन रोकिनुपर्ने, चिप्लो सडकका कारण दुर्घटनाको जोखिम बढ्ने तथा यात्रुहरूले सास्ती खेप्नुपर्ने अवस्था रहेको सवारी चालक तथा यातायात व्यवसायीहरूको गुनासो छ।
असारको बेलामा सडक निर्माणको काम हुँदा सडक चिप्लो र जोखिमपूर्ण हुने तथा काम भएको बेलामा घण्टौँ रोकिएर बस्नु पर्दा गन्तव्यमा पुग्न समेत समस्या हुने गरेको सवारी चालक अर्जुन बहादुर विकले बताउनुभयो । उहाँले लामो समयदेखि निर्माण नभएको जाहारकोट–मल्ली सडकखण्ड असार लागेपछि काम थालिएको सो यात्रा गर्न समस्या हुने गरेको बताउनुभयो । उहाँले बर्षा सुरु भएपछि सडक हिलाम्मे हुँदा यात्रुलाई बढी सास्ती हुने बताउनुभयो।
कानुनी विवादका कारण लामो समयदेखि रोकिएको मध्यपहाडी राजमार्गअन्तर्गत दैलेखको जाहारकोट–मल्ली सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य ढिलाई भएका मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका योजना कार्यालयले जनाएको छ । पछिल्लो समयम नारायण नगरपालिका–२ अन्तर्गत पर्ने करिब २ सय ६० मिटर सडकखण्डमा अहिले निर्माण कार्य भइरहेको छ। जग्गाधनीले क्षतिपूर्ति माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि २०७८ चैतदेखि उक्त सडकखण्डको निर्माण रोकिएको थियो। सर्वोच्च अदालतले रिट खारेज गरेपछि निर्माण कम्पनीले काम सुरु गरेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका योजना प्रमुख इन्जिनियर निरञ्जन थापाले जानकारी दिनुभयो। उहाँले करिब १ करोड ३० लाख रुपैयाँ लागतमा सडक निर्माण भइरहेको बताउनुभयो । उहाँले असार मसान्तभित्र काम सक्ने लक्ष्य रहे पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा अन्य प्राविधिक कारणले केही ढिलाइ भएको बताउनसभयो । उहाँले मौसम अनुकूल रहे साउनभित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको मध्यपहाडी राजमार्गले पूर्वदेखि पश्चिमसम्म पहाडी भूभागलाई जोड्ने लक्ष्य राखेको छ। दैलेख जिल्लामा मात्र करिब १२५ किलोमिटर सडकखण्ड रहेको यस राजमार्गका अधिकांश भागमा कालोपत्रे सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतबार
प्रतिक्रिया