२०८३ साउन १३ , बुधबार

दैलेख पूर्ण खोप सुनिश्चितता निरन्तरता तथा दिगोपना जिल्ला घोषणा



 

यामराज बिष्ट
दैलेख । दैलेखलाई पूर्ण खोप सुनिश्चितता निरन्तरता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै बालबालिकाले पाउनुपर्ने सम्पूर्ण गुणस्तरीय खोप सेवा प्राप्त गरेको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता ,निरन्तरता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
जिल्लाका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाउनुपर्ने सबै प्रकारका खोप प्राप्त गरेपछि जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताउनुभयो। उहाँले जिल्लामा रहेका १५ महिनाभित्रका ३ हजार २सय३४ बालबालिकाले नियमित बालबालिकाले पूर्णखोप लगाएको बताउनुभयो ।स्वास्थ्य सेवा कार्यालयका अनुसार खोपबाट छुटेका बालबालिकाको खोजीका लागि ४हजार४ सय ७४ घरधुरीमा लाइन लिस्टिङ गरिएको थियो । जिल्लामा १६–२३ महिनाका ३,५३१ र १६–५९ महिनाका १६ हजार ५२४ बालबालिकाको घरधुरी सर्वेक्षण गरिएको कार्यालयले जनाएको छ। सर्वेक्षणका क्रममा ३ जना शून्य डोज र ८० जना आंशिक खोप लगाएका बालबालिकालाई समेत पूर्ण खोपको पहुँचमा ल्याइएको थियो।
यस्तै कर्णाली प्रदेशका सामाजिक विकास सचिब रोशनी कुमारी श्रेष्ठले खोप लगाउने महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको सुधार हुने प्रमुख कदम खोप कार्यक्रम भएको हुँदा आगामी दिनमा खोपको दिगोपनालाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले दैलेख जिल्लाको अस्पतालको संस्था स्तरोन्नति गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले स्वास्थ्य विमालाई कार्यक्रमलाई अगाडि बढाउन सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा स्वास्थ्य सुधारको महत्वपूर्ण उपलब्धि भएको जिल्ला समन्वय प्रमुख नवराज शाहीले बताउनुभयो । उहाँले सर्वसाधारणले पनि यसलाई महत्त्वका साथ लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा यो घोषणालाई दिगोपन राख्नु पर्ने कर्णाली प्रदेशका समाजिक विकास मन्त्री घनश्याम भष्डारीले बताउनुभयो । उहाँले स्वस्थ समाज निर्माणका लागि खोप अभियान अनिवार्य रहेको बताउनुभयो । उहाँले खोप अभावका कारण बालबालिकामा हुने जटिल रोगहरुबाट बचाउनको लागि खोप अभियान अपरिहार्य रहेको र सोहीअनुसार प्रदेश सरकारले अभियान सञ्चालनलाई प्राथमिकता दिएको बताउनुभयो ।
स्वास्थ्य सेवा कार्यालय स्वास्थ्य सेवा व्यवस्थापक डा. मनोज विश्वकर्माले जिल्लामा कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहून् भन्ने उद्देश्यका साथ खोज तथा प्रमाणीकरण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँ सबै सरोकारवाला निकायको सहकार्यका कारण जिल्लाले उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो।
जिल्लामा २ अस्पताल, ३ आधारभूत अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, ५५ स्वास्थ्य चौकी, ५ शहरी स्वास्थ्य सेवा केन्द्र, १८ सामुदायिक स्वास्थ्य इकाइ, २४ आधारभूत स्वास्थ्य सेवा केन्द्र, ८२१ जना महिला स्वास्थ्य स्वयंसेविका २५९ खोप केन्द्रमार्फत नियमित खोप सेवा प्रदान भइरहेको छ।
कार्यक्रममा जिल्लाका नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार तथा सरोकारवालाको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८३ असार २२ गते सोमबार
प्रतिक्रिया