
काठमाडौँ, असार २२ गते। देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले सोमबार पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा औसतभन्दा दक्षिणतर्फ र पश्चिमी क्षेत्रमा औसत अवस्थाकै आसपास रहेको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
विभागका अनुसार दिउँसो हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने कोशी, मधेस र बागमतीका तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा तथा कोशीको तराई र मधेसका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। साथै मधेस तथा कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ भने कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना छ। मधेस, कर्णालीका पहाडी भूभाग तथा बागमतीका पहाडी र तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने विभागले जनाएको छ।
यसैगरी, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।








