काठमाडौं, असार २३ गते । सरकारले विद्युतीय राहदानी ९ई–पासपोर्ट० वितरणका लागि नयाँ प्रविधि प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। राहदानी विभागका अनुसार हाल प्रयोगमा रहेको प्रणालीलाई प्रतिस्थापन गर्दै जर्मनीका दुई कम्पनीको सहकार्यमा विकसित नयाँ प्रणालीमार्फत राहदानी जारी गरिनेछ।
नयाँ प्रणाली कार्यान्वयनका क्रममा केही दिन राहदानी सेवा प्रभावित हुने विभागले जनाएको छ। यसअघि फ्रान्सको आइडिया कम्पनीको प्रविधिबाट सञ्चालन हुँदै आएको प्रणालीलाई प्रतिस्थापन गर्न लागिएको हो।
विभागका अनुसार असार २९ गतेदेखि नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउनेछ। त्यसअघि प्रणाली परिवर्तनका कारण जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म बन्द रहनेछ। राहदानी विभागबाट प्रदान गरिने सेवा भने असार २५ र २६ गते अवरुद्ध हुनेछ।
बीचका केही दिन सार्वजनिक बिदा परेकाले त्यसपछि नयाँ प्रणालीमार्फत नियमित सेवा सञ्चालन गरिने विभागले जनाएको छ। सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति विभागले क्षमायाचना समेत गरेको छ।
नयाँ प्रणाली लागू गर्न गत फागुनदेखि परीक्षण छपाइ, सफ्टवेयर परीक्षण तथा अनलाइन प्रणालीको परीक्षण हुँदै आएको थियो। कम्पनी परिवर्तनसम्बन्धी विवाद देखिए पनि सरकारले सम्झौताअनुसारकै कम्पनीमार्फत राहदानी छपाइ र प्राविधिक व्यवस्थापन अघि बढाएको जनाएको छ। सरकारले यसबाट नागरिकले प्राप्त गर्ने सेवामा कुनै असर नपर्ने विश्वास व्यक्त गरेको छ भने बाँकी कानुनी विवाद अदालतमार्फत टुंगिने अपेक्षा गरेको छ।








