
दैलेख ।दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा कर्णाली राजमार्गमा भएको फोर्स गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।दुर्घटनापछि बेपत्ता भएका कालिकोटको पचालझरना गाउँपालिका–६ का मेखे तिरुवाको शव दुर्घटनाको पाँच दिनपछि कैलालीमा फेला परेपछि मृतक संख्या दुई पुगेको हो।
कैलालीको मोहन्याल गाउँपालिका–६ स्थित सोन्टा क्षेत्रमा कर्णाली नदीमा फेला परेको शव मेखे तिरुवाकै रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।मृतकका छोरा रवीन्द्र तिरुवाले शव आफ्ना पिता मेखे तिरुवाकै भएको सनाखत गरेका छन्।
यसअघि पचालझरना गाउँपालिका–९ का जोखे तिरुवाको शव दुर्घटनास्थल नजिकै कर्णाली नदीको किनारमा फेला परेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उक्त शव आफन्तलाई बुझाइसकिएको प्रहरीले जनाएको छ।
गत असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ५०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटनाग्रस्त भएको थियो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा बेपत्ता चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी र यात्रु सिर्जना खड्काको खोजी कार्य अझै जारी छ।








