
ATLANTA, GEORGIA – JULY 7: Lionel Messi of Argentina celebrates scoring a goal to make the score 2-2 during the FIFA World Cup 2026 Round of 16 match between Argentina and Egypt at Atlanta Stadium on July 7, 2026 in Atlanta, United States. (Photo by Chris Brunskill/Fantasista/Getty Images)
काठमाडौं । स्विट्जरल्यान्ड र साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्। अन्तिम–१६ का खेलमा जित निकाल्दै दुवै टोलीले अन्तिम आठको यात्रा तय गरेका हुन्।
क्यानडाको बीसी प्लेस स्टेडियममा आज बिहान सम्पन्न अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्यो।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। पेनाल्टीमा कोलम्बियाका डेभिन्सन सान्चेज र कुचो हर्नान्डेज गोल गर्न असफल भए भने स्विट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले सफल प्रहार गरे।
सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको स्विट्जरल्यान्डका लागि यो विश्वकप इतिहासकै चौथो क्वार्टरफाइनल यात्रा हो। अब स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि साबिक विजेता अर्जेन्टिनाको सामना गर्नेछ।
यता अमेरिकाको एटलान्टा स्टेडियममा भएको अर्को अन्तिम–१६ खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले हरायो।
इजिप्टले खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट अग्रता लिएको थियो। दोस्रो हाफको ६७औँ मिनेटमा अर्को गोल थप्दै उसले २–० को बलियो अवस्था बनाएको थियो। तर अर्जेन्टिनाले अन्तिम १४ मिनेटमा तीन गोल फर्काएर खेल आफ्नो पक्षमा पार्यो।
खेलको ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए। त्यसको चार मिनेटपछि कप्तान लियोनल मेसीले बराबरी गोल गरे। इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले हेडमार्फत निर्णायक गोल गरेपछि अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन जित दर्ता गर्यो।
इजिप्ट फुटबल सङ्घले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको जनाएको छ। यद्यपि, फिफाले त्यसबारे अहिलेसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन।
यससँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनल प्रवेशका लागि अब फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्यान्ड तथा अर्जेन्टिना र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।








