
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको ‘ध्रुवे’ हात्तीलाई नियन्त्रणमा लिन २४सै घण्टा अनुगमन सुरु गरिएको छ।
कृषि तथा वन वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा हात्तीको गतिविधि निगरानी तथा नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
गत असार २० गते चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणबाट माडी नगरपालिका–१ की २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको मृत्यु भएको थियो। उनीहरू हाल बेलहट्टामै बसोबास गर्दै आएका थिए।
मन्त्री चौधरीका अनुसार हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परे डार्ट प्रयोग गरी रेडियो कलर जडान गर्ने तयारी गरिएको छ। रेडियो कलर जडानपछि हात्तीको गतिविधिलाई २४सै घण्टा निगरानीमा राखिनेछ।
उहाँले हात्ती मध्यवर्ती क्षेत्रका बस्तीमा प्रवेश गर्न लागेको सूचना सम्बन्धित स्थानीयवासीसम्म समयमै पुर्याई आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
यसैबीच, ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका परिवारलाई तत्काल राहत उपलब्ध गराइएको मन्त्री चौधरीले जानकारी दिनुभयो। घटनाको तीन दिनभित्रै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँका दरले कुल २० लाख रुपैयाँ राहत रकम प्रदान गरिएको छ।
यस्तै, राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सञ्चालित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले थप एक लाख रुपैयाँ उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।








