
यामराज बिष्ट
दैलेख।लगातारको वर्षापछि गएको पहिरोका कारण खानेपानीको पाइप बगाउँदा दैलेख सदरमुकाममा खानेपानी सेवा अवरुद्ध हँदा खानेपानी समस्या भएको हो ।पहिरोले नारायण खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १४० एमएम र १८० एमएम व्यासका मुख्य पाइप बगाउँदा दैलेख सदरमुकाममा खानेपानी समस्या भएको हो ।
पहिरोले करिब ८० मिटर पाइपलाइनमा क्षति पु¥याएको संस्थाले जनाएको छ। संस्थाका अुनसार करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
पहिरोका कारण मुख्य पाइपलाइनमा ठूलो क्षति पुगेकाले खानेपानी सेवा अवरुद्ध भएको नारायण नगरपालिका खानेपानी समितिका संयोजक तथा नारायण नगरपालिका–१ का वडाध्यक्ष शैलेश श्रेष्ठले बताउनुभयो। उहाँले पटक–पटक आएको पहिरोले सदरमुकाममा ल्याइएको पानीको पाइप विभिन्न स्थानमा बगाउँदा पिउने पानी उपलब्ध गराउन नसकिएको बताउनुभयो ।
उहाँले खानेपानी सेवा सञ्चालन गर्न संस्थाका व्यवस्थापन समिति, कर्मचारी तथा नेपाली सेनाको टोली आवश्यक उपकरणसहित मर्मत कार्यमा खटिएको बताउनुभयो। उहाँले दुर्गम भौगोलिक अवस्था, पहिरोको जोखिम तथा क्षतिग्रस्त पाइपलाइनका कारण मर्मत कार्य सम्पन्न गर्न केही समय लाग्ने बताउनुभयो।
पहिरोले मुख्य प्रसारण पाइप लाईन बगाएकाले खानेपानी सेवा पूर्ण रूपमा अवरुद्ध भएको जानकारी हो। जिल्लामा उपलब्ध जनशक्ति र स्रोत–साधन परिचालन गरी क्षतिग्रस्त पाइपलाइनको मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको र सकेसम्म छिटो खानेपानी सेवा पुनः सञ्चालन गर्ने प्रयास संस्थाले जनाएको छ। निरन्तरको वर्षाले गर्दा व्यास महाबु गाँउपालिकाको गुर्जेनी नजिक पहिरो जाँदा क्षति पुगेको हो ।
खानेपानी सेवा अवरुद्ध हुँदा दैलेख सरमुकाममा बसोबास गर्ने बासिन्दाले समस्या भोग्दै आएका छन् । खानेपानी अवरुद्ध भएपछि खोलाको दूषित खानेपानी प्रयोग गर्नुपर्ने बाध्यता परेको स्थानियको भनाइ छ ।
मर्मत कार्य सम्पन्न हुनेबित्तिकै नियमित खानेपानी आपूर्ति पुनः सुरु गरिने संस्थाले जनाएको छ । दैलेख सदरमुकामा करिब दिनदेखि नियमित खानेपानी वितरण हुन सकेको छैन।








