
यामराज बिष्ट
दैलेख ।महाबु गाउँपालिकाले निर्माणाधीन ताराघाट–खरिगैरो–गैडाबाज–एकपाटे–टाकुरी–काशिकाँध सडक निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेको छ । गाँउपालिकाले सडक निर्माणमा ढिलासुस्ती भन्दै असन्तुष्टि जनाउँदै निर्माण व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन कर्णाली प्रदेश सरकारसँग आग्रह गरेको छ।
गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाहीद्वारा हस्ताक्षरित पत्रमार्फत भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशलाई निर्माण व्यवसायीले सम्झौता अनुसार निर्धारित समयभित्र काम सम्पन्न नगरी ढिलासुस्ती गरेको उल्लेख गरिएको छ। पत्रमा उक्त सडक महाबु गाउँपालिकाको केन्द्रलाई दैलेख सदरमुकामसँग जोड्ने मुख्य तथा रणनीतिक सडक भएकाले निर्माणमा भएको ढिलाइका कारण स्थानीय नागरिक, कर्मचारी, विद्यार्थी, बिरामी तथा सेवाग्राहीले दैनिक आवतजावतमा ठूलो सास्ती खेप्नुपरेको जनाइएको छ।वर्षायाममा सडक झन् जोखिमपूर्ण बनेपछि सार्वजनिक सेवा प्रवाह, स्वास्थ्य सेवा, शैक्षिक गतिविधि र स्थानीय आर्थिक गतिविधिसमेत प्रभावित भएको उल्लेख छ।
गाउँपालिकाले निर्माण व्यवसायीलाई पटक–पटक मौखिक तथा लिखित रूपमा सम्झौताअनुसार काम सम्पन्न गर्न आग्रह र ताकेता गर्दा पनि अपेक्षित प्रगति नभएको गाँउपालिका अध्यक्ष जंगबहादुर शाहीले बताउनुभयो। उहाँले सडक निर्माणको ठेक्का लिएर ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई नियमानुसार कानुनी दायरामा ल्याउन माग गर्नुभयो । उहाँले विकास निर्माणको कामलाई तीव्रता दिँदै अपुरा रहेका आयोजनाको पूर्णताका लागि पहल गर्न कर्णाली सरकार संग आग्रह गरिएको बताउनुभयो ।
यसले सार्वजनिक खरिदसम्बन्धी सम्झौताका शर्तहरूको उल्लङ्घन भएको निष्कर्ष गाउँपालिकाले निकालेको छ।सार्वजनिक खरिद ऐन,२०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा सम्झौताका शर्तअनुसार आवश्यक छानबिन गरी हर्जाना असुल, कार्यसम्पादन जमानत जफत, कालोसूचीमा सिफारिस लगायत आवश्यक कानुनी कारबाही प्रक्रिया तत्काल अघि बढाउन मन्त्रालयलाई अनुरोध गरिएको छ।
यस्तै सर्वसाधारणको सहज आवतजावत सुनिश्चित गर्न यस महत्वपूर्ण सडक आयोजनाको निर्माण कार्य शीघ्र सम्पन्न गराउन आवश्यक निर्देशन, समन्वय र पहल गरिदिन पनि गाउँपालिकाले आग्रह गरेको छ ।
पुर्वधार विकास कार्यालयका अनुसार हालसम्म करिब ६० देखि ६५ प्रतिशत काम सम्पन्न भएको छ । पुर्वाधार विकास कार्यालय दैलेखले पन्त आकृति जेभी, गुल्मीसँग २०७९ भदौमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
हालको सम्झौता अवधि २०८३ भदौ ८ गतेसम्म रहेको छ । तोकिएको समयभित्र काम सम्पन्न नभए प्रगतिका आधारमा कानुनी कारबाही गरिने पूर्वाधार विकास कार्यालय प्रमुख प्रविन कार्कीले जानकारी दिनुभयो ।उहाँले तोकिएको समयमा काम सम्पन्न नगरेपछि पुन एक वर्षका लागि म्याद थप गरिएको बताउनुभयो । सम्झौता अनुसार १९ किलोमिटर सडक कटिङ तथा चौडाइ विस्तार र छ किलोमिटर सडक ढलान तथा कालोपत्रे गर्ने योजना रहेको थियो । सडक निर्माण नहुँदा स्थानीयवासी धुलो र हिलोको समस्याबाट प्रभावित भएका छन् ।








