२०८३ साउन १२ , मंगलबार

‘आत्मनिर्भरताका लागि कृषि उत्पादनमा वृद्धि जरुरी’



 

दैलेख । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले कृषि विकास कार्यालय दैलेख र पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको संयुक्त आयोजनामा दैलेखमा ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा सरकारको अध्ययन र अनुसन्धानले मात्रै कृषि क्षेत्रको विकास अपेक्षित ढङ्गले अघि बढ्न नसकेको उल्लेख गर्नुभयो । उहाँले खेतीयोग्य जमिन बाँझो हुन थालेकोमा चिन्ता व्यक्त गर्दै कृषि उत्पादनमा चुनौती थपिएको उल्लेख गर्दै त्यसका लागि निजी क्षेत्रले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतामा अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाहीले कृषक नै मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै कृषकलाई सम्मान गर्नु भनेको उत्पादन, श्रम र आत्मनिर्भरताको सम्मान गर्नु भएको बताउनुभयो। उहाँले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। यस्ता पुरस्कारले कृषकलाई थप उत्साहित बनाउँदै उत्पादन वृद्धि र कृषि व्यवसाय विस्तारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

यस्तै नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष कमल प्रसाद शर्माले कृषि क्षेत्रको विकासमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो। कृषकका सफलता, समस्या र सम्भावनालाई निरन्तर उजागर गर्दै कृषि क्षेत्रको प्रवर्द्धनमा पत्रकारिता सधैं प्रतिबद्ध रहने उहाँले बताउनुभयो। उहाँले यस्ता सम्मान तथा पुरस्कार कार्यक्रमले कृषि पेशाप्रति समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै कृषकको मनोबल उच्च बनाउनुयो ।

कार्यक्रममा कृषि विकास कार्यालय दैलेख र पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुखहरूले कृषि उत्पादन वृद्धि, व्यवसायीकरण तथा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना कृषि विकास कार्यालयका प्रमुख दशरत पाण्डेले गरिएको बताउनुभयो।

कार्यक्रममा उत्कृष्ट कृषकहरूलाई सम्मानपत्र तथा पुरस्कार प्रदान गर्दै कृषि क्षेत्रको विकासमा निरन्तर लागिरहन शुभकामना व्यक्त गरिएको थियो।
उत्कृष्ट कृषकलाई सम्मान गर्दै उनीहरूको अनुभवबाट अन्य कृषकलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको थियो। कृषि तथा पशुपालन क्षेत्रमा योगदान पुर्‍याएका उत्कृष्ट कृषकहरूलाई सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारीआनन्द सारु, पशु अस्पताल तथा पशु सेवा कार्यालय कार्यलय प्रमुख प्रचण्ड खड्का ,पत्रकार, कृषि तथा पशु प्राविधिक र जिल्लाभरका कृषकहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८३ असार २७ गते शनिबार
प्रतिक्रिया