२०८३ साउन १२ , मंगलबार

खानेपानी योजनाको दिगोपनाबारे सुचारुपना सम्मेलन



 


दैलेख । खानेपानी तथा सरसफाइ योजनाको दिगोपना सुनिश्चित गर्न तथा सरोकारवालाको जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले दुल्लु नगरपालिकामा सुचारुपना सम्मेलन सम्पन्न भएको छ।‘दिगोपनाका लागि जवाफदेहिता, सुचारुपनाका लागि साझेदारी’ भन्ने मूल नाराका साथ दुल्लु नगरपालिकामा  सुचारुपना सम्मेलन गरिएको हो ।

सम्मेलनमा नगरपालिकाभित्र सञ्चालनमा रहेका १०० वटा खानेपानी योजनाको अवस्था, सेवा प्रवाह, चुनौती तथा सुधारका उपायबारे समीक्षा गरिएको थियो। १३ वटै वडाका प्रतिनिधिले आफ्नो क्षेत्रका खानेपानी योजनाको अवस्था, धारा वितरण, सेवा प्रवाह, समस्या तथा आवश्यकताबारे प्रस्तुति दिएका थिए।

कार्यक्रममा आयोजित प्यानल छलफलमा खानेपानी योजनाको दिगोपना, नियमित मर्मत, उपभोक्ताको सहभागिता र प्रभावकारी व्यवस्थापनका उपायबारे छलफल गरिएको थियो। सहभागीहरूले खानेपानी योजनालाई दीर्घकालीन रूपमा सञ्चालन गर्न साझा प्रतिबद्धता व्यक्त गरेका थिए।

 

नगरपालिकामा हाल १०० वटा खानेपानी योजना सञ्चालनमा रहेको दुल्लु खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष भागवत हमालले बताउनुभयो। उहाँले ती योजनामार्फत ३ हजार ६५८ वटा धाराबाट ४ हजार ७६० घरधुरीका २४ हजार ९४१ जना लाभान्वित भइरहेको बताउनुभयो। सुचारुपना मूल्याङ्कनका आधारमा केही योजनाले ९० प्रतिशतभन्दा बढी अंक प्राप्त गरेको र केही योजना ३१ प्रतिशतसम्म सीमित रहेको उहाँको भनाइ थियो। वडा नम्बर ९ र १३ मा खानेपानीको समस्या तुलनात्मक रूपमा बढी रहेको उहाँले बताउनुभयो।

एभरेस्ट क्लब दैलेखका कार्यकारी निर्देशक दीपक शाहीले सुरक्षित र दिगो खानेपानी सेवाका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

यस्तै  नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष कमल शर्माले खानेपानी योजनाको प्रभावकारी सञ्चालनका लागि पारदर्शिता, उत्तरदायित्व र जनसहभागिता सुदृढ हुनुपर्ने बताउनुभयो।उहाँले निर्माण सम्पन्न भएका योजनाको मर्मत संभार तथा आवश्यक ठाउँमा योजना निर्माणमा नगरपालिकाले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका नगरप्रमुख भरत रिजालले कर्णाली प्रदेशमै नमूनाका रूपमा दुल्लुमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरी ‘हेलो धारा’ हटलाइन तथा मोबाइल एपमार्फत खानेपानीसम्बन्धी गुनासा र सुझाव संकलन गर्ने व्यवस्था गरिएको बताउनुभयो। उहाँले खानेपानी सेवाको दिगोपना सुनिश्चित गर्न स्थानीय सरकार, उपभोक्ता र सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको  बताउनुभयो।

हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा एभरेस्ट क्लब दैलेखको सहजीकरणमा आयोजित सम्मेलनमा दुल्लु नगरपालिकाभित्र सञ्चालित खानेपानी योजनाको समग्र अवस्थाको समीक्षा गर्दै आगामी दिनमा सेवा सुधार, सुशासन र दिगोपनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको आयोजकले बताउनुभयो।

आयोजित सम्मेलनमा दुल्लु नगरपालिकाका १३ वटै वडाबाट जनप्रतिनिधि, खानेपानी व्यवस्थापन बोर्डका पदाधिकारी, उपभोक्ता समिति, विभिन्न खानेपानी योजनाका प्रतिनिधि तथा सरोकारवाला निकायका करिब ३०० जनाको सहभागिता रहेको थियो।

 

प्रकाशित मिति : २०८३ असार २८ गते आइतबार
प्रतिक्रिया