काठमाडौं — गएराति मध्य तथा पूर्वी नेपालका विभिन्न जिल्लामा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, सोलुखुम्बु, झापा, मकवानपुर र म्याग्दीलगायत जिल्लामा उल्लेख्य वर्षा मापन गरिएको छ।
काठमाडौं उपत्यकासहित देशका अन्य धेरै क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ भने केही स्थानमा अझै वर्षा जारी रहेको छ।
यता कैलालीस्थित कटेनी नदीको रतनपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र तथा डुबान हुने जोखिम भएका होचा भूभागका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले आज र भोलि पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्र, साथै कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि मुसलधारे वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।








