
काठमाडौँ — सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उनीहरूलाई सम्बन्धित निकायको नेतृत्वको जिम्मेवारी दिइएको हो।
नवनियुक्त अध्यक्षद्वयले मंगलबार सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। दूरसञ्चार प्राधिकरणका अध्यक्ष घिमिरेले सोही अवसरमा पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।
नियुक्तिपत्र हस्तान्तरण गर्दै मन्त्री तिमिल्सिनाले खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका दुवै अध्यक्षलाई आफ्नो कार्यसम्पादनलाई परिणाममुखी बनाउन आग्रह गर्नुभयो।
प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठले सञ्चार क्षेत्रको संरचना र अभ्यासमा व्यापक परिवर्तन आइसके पनि त्यससँग सम्बन्धित कानुनी व्यवस्था पुरानो भइसकेको उल्लेख गर्दै समयानुकूल कानुन संशोधन आवश्यक रहेको धारणा राख्नुभयो।
यस्तै, दूरसञ्चार प्राधिकरणका अध्यक्ष घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान समस्या र कमजोरी समाधानलाई प्राथमिकतामा राखेर प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








