
दैलेख। गुराँस गाउँपालिकाले आर्थिक वर्ष २०८३र०८४ का लागि ७० करोड ३२ लाख ३३ हजार ५ सय ५५रुपैयाँ बराबरको बजेट तथा वार्षिक नीति–कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभाले अध्यक्ष टोपबहादुर बिसीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम तथा उपाध्यक्ष गीता शिवा कुमारी खड्काले प्रस्तुत गर्नुभएको बजेट पारित गरेको हो।
आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार विकास र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। नीति तथा कार्यक्रममा घर–घरमा धारा, पूर्ण स्वरोजगार गाउँपालिका, एक वडा–एक उद्योग, एक टोल–एक उत्पादन, डिजिटल गाउँपालिका, १५ शय्याको अस्पताल सञ्चालन, आयुर्वेद अस्पताल, योग तथा हेल्थ सेन्टर, बहुउद्देश्यीय प्रशासनिक भवन निर्माण तथा कृषि विकास एवं वनस्पति अनुसन्धान केन्द्र स्थापना लगायतका कार्यक्रम समेटिएका छन्।
बजेट विनियोजनअनुसार सामाजिक विकासतर्फ ४१ करोड ४८ लाख ९ हजार १ सय ७० रुपैयाँ, पूर्वाधार विकासतर्फ १६ करोड ५२ लाख८ ७ हजार ३ सय ४५रुपैयाँ, सुशासन तथा संस्थागत विकासतर्फ ९ करोड ६९ लाख ३७ हजार रुपैयाँ, आर्थिक विकासतर्फ २ करोड ४२ लाख रुपैयाँ तथा वन, वातावरण र विपद् व्यवस्थापनतर्फ ३० लाख रुपैयाँ छुट्याइएको छ।
नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष कमलप्रसाद शर्माले गाउँपालिकाले पारित गरेको बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रलाई पनि विकासको महत्वपूर्ण साझेदारका रूपमा समेट्नुपर्ने बताउनुभयो। उहाँले बजेटले निर्धारण गरेका योजना समयमै, पारदर्शी र गुणस्तरीय रूपमा कार्यान्वयन भए मात्रै नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने उल्लेख गर्नुभयो।
गाउँपालिकाका प्रवक्ता दिपेन्द्र वलीले गाउँसभा सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा बजेट तथा नीति–कार्यक्रमले उत्पादन वृद्धि, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई पशुपक्षी विकास, उद्योग–व्यवसाय प्रवर्धन, पर्यटन विकास, तथा बालबालिका सशक्तीकरण, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, सुशासन तथा सेवा प्रवाह सुधार, राजस्व परिचालन र योजनाबद्ध विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
उहाँले गाउँपालिकाको बेरुजु नियन्त्रण गर्दै सुशासन, पारदर्शिता र वित्तीय अनुशासन कायम गर्न विशेष जोड दिइने बताउनुभयो ।उहाँले पारित नीति तथा कार्यक्रम र बजेट प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गरिने जानकारी दिनुभयो।








