
यामराज बिष्ट
दैलेख,साउन १गते। गुराँस गाउँपालिकाले नेपाली ग्रामीण जीवन, दुग्ध संस्कृतिको परम्परा तथा मही–नौनी बनाउने परम्परागत चलनलाई झल्काउने ‘मही पार्ने ठेकी–मदानी’को कलात्मक स्तम्भ स्थापना गरेको छ । गुराँस गाउँपालिकाको परिसरमा स्थापना गरिएको उक्त स्तम्भको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उद्घाटन गर्नुभएको हो । गाउँपालिकाका अनुसार घेरबार सहित स्तम्भ निर्माणमा २लाख २२ हजार रुपियाँमा निर्माण भएको छ ।
दैलेख पशुपालन तथा दुग्ध उत्पादनको क्षेत्रमा पहिचान बनाएको जिल्ला भएकाले यहाँको मौलिकता र परम्परागत संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले स्तम्भ स्थापना गरिएको गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीले बताउनुभयो ।उहाँले पुस्तौँदेखि चल्दै आएको पशुपालन तथा दुग्धजन्य परम्परालाई संरक्षण गर्दै किसानलाई दुग्ध उत्पादनमा प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो ।“गोरसपात दैलेखको सम्पदा, सम्मान, जीवन, कला, संस्कृति र गौरव हो,”उहाँले भन्नुभयो ।
पछिल्लो समय बिस्तारै लोप हुँदै गएको मोही पार्ने परम्परालाई नयाँ पुस्तासम्म पु¥याउन तथा ग्रामीण जीवन र पशुपालन संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कलात्मक स्तम्भ निर्माण गरिएको अध्यक्ष बिसीले बताउनुभयो । यस्ता मौलिक संरचनाले गुराँस आउने पर्यटकलाई आकर्षित गर्नसमेत सहयोग पुग्ने उहाँको भनाइ छ ।“दूध र दही फ्रिजभित्र बन्छ भन्ने पुस्तालाई हाम्रो परम्परागत मोही पार्ने संस्कृति र पशुपालक किसानको योगदानबारे सम्झाउन आवश्यक छ,” अध्यक्ष बिसीले भन्नुभयो।
यस्तै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले मन्त्री शाहले परम्परागत कृषि तथा पशुपालन संस्कृतिसँग जोडिएका यस्ता मौलिक कला र सम्पदाको संरक्षणले स्थानीय पहिचान कायम गर्न तथा पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने बताउनुभयो । उहाँले पछिल्लो समय आधुनिकता र बदलिँदो जीवनशैलीका कारण नेपाली समाजका मौलिक संस्कार, संस्कृति, परम्परा र जीवनशैलीसँग जोडिएका धेरै महत्वपूर्ण पक्षहरू क्रमशः लोप हुँदै गइरहेको बताउनुभयो। उहाँले नेपाली ग्रामीण जीवन, पशुपालन तथा दुग्ध संस्कृतिसँग गहिरो रूपमा जोडिएको मही पार्ने ठेकी–मदानीको परम्परा नयाँ पुस्ताका लागि सम्झनाको विषय बन्दै गइरहेको अवस्थामा गुराँस गाउँपालिकाले मौलिकता झल्किने ‘मही पार्ने ठेकी–मदानी’ स्तम्भ स्थापना गर्नु प्रशंसनीय कार्य भएको उहाँले बताउनुभयो।
उहाँले कला, संस्कृति र परम्परालाई सार्वजनिक रूपमा संरक्षण र प्रवद्र्धन गर्न सकेमा भावी पुस्तालाई आफ्नो मौलिक पहिचान, पुर्खाको जीवनशैली तथा ग्रामीण संस्कृतिसँग जोड्न सकिने भन्दै उहाँले मौलिक संस्कार–संस्कृतिको संरक्षणमा स्थानीय तह, समुदाय र नयाँ पुस्ताको सहकार्य आवश्यक रहेको बताउनुभयो ।








