२०८३ भदौ २८ , आइतबार

दैलेख जिल्ला अदालतमा ८० प्रतिशत मुद्दा फछ्र्यौट



दैलेख । दैलेख जिल्ला अदालतले आर्थिक वर्ष २०८२र०८३ मा दर्ता भएका तथा जिम्मेवारी सरेर आएका मुद्दामध्ये ८० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ।
अदालतको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कुल ५ सय ५४ थान मुद्दामध्ये ४ सय ४२ थान मुद्दा फैसला गरी ८० प्रतिशत प्रगति हासिल गरिएको जानकारी दिइएको हो।
अदालतले वार्षिक रूपमा ६५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा ८० प्रतिशत मुद्दा टुंग्याउँदै लक्ष्यको ११२ प्रतिशत उपलब्धि हासिल गरेको श्रेस्तेदार उपसचिव वीरेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो। गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ४६ र नयाँ दर्ता भएका ४ सय ८ गरी कुल ५ सय ५४ थान मुद्दामध्ये ४ सय ४२ थान फैसला भइसकेका छन्।
हाल अदालतमा १ सय १२ थान मुद्दा विचाराधीन छन्। सर्वोच्च अदालतको मापदण्डअनुसार दुई वर्षभित्र मुद्दा फैसला गरिसक्नुपर्ने व्यवस्था भए पनि दैलेख जिल्ला अदालतमा एक वर्षभन्दा पुराना कुनै पनि मुद्दा नरहेको अदालतले जनाएको छ। हाल छ महिनाभन्दा बढी अवधिका ११ थान मुद्दा मात्र विचाराधीन रहेका छन्।
तीमध्ये सात थान सम्बन्धविच्छेदका मुद्दा कानुनी व्यवस्थाअनुसार एक वर्षको प्रतीक्षाकाल पूरा हुनुपर्ने भएकाले प्रक्रियामा रहेका हुन्। बाँकी चार थान मुद्दामध्ये दुई थानमा परीक्षण प्रतिवेदन आउन बाँकी रहेको, एक थानमा बाहिरी जिल्लाबाट तामेली प्राप्त हुन बाँकी रहेको तथा अर्को एक थानमा फाँटवारी पेस हुन बाँकी रहेको अदालतले स्पष्ट पारेको छ। अन्य सबै मुद्दा छ महिनाभित्रका रहेका छन्।
जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले गुणस्तरीय, समयमै र प्रभावकारी न्याय सम्पादनलाई प्राथमिकतामा राखेर काम गरिएकाले लक्ष्यभन्दा बढी उपलब्धि हासिल गर्न सफल भएको धारणा राख्नुभयो। बाँकी रहेका मुद्दासमेत कानुनी प्रक्रिया पूरा गरी छिट्टै टुंग्याउने गरी अदालत अघि बढिरहेको उहाँको भनाइ छ।
एक वर्षभन्दा पुराना मुद्दा शून्यमा झार्नुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै न्यायाधीश पाण्डेले न्याय सम्पादनलाई अझ प्रभावकारी, छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन अदालत निरन्तर सक्रिय रहेको उल्लेख गर्नुभयो।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रबार
प्रतिक्रिया