
जाजरकोट। जाजरकोटका गाउँबस्तीमा पछिल्ला वर्षहरूमा पक्की घर निर्माण तीव्र रूपमा बढेसँगै ढुङ्गा, माटो र स्थानीय काठबाट बनेका परम्परागत घर क्रमशः विस्थापित हुँदै गएका छन्। एक समय गाउँको पहिचान मानिने कलात्मक झ्याल–ढोका, रातो माटो र कमेरोले सजिएका मौलिक घर अहिले विरलै देखिन थालेका छन्।
विशेषगरी सडक पहुँच विस्तार र आधुनिक निर्माण सामग्रीको सहज उपलब्धतासँगै स्थानीयले पुराना घर भत्काएर आरसीसी संरचना बनाउन थालेका छन्। तीन वर्षअघि गएको जाजरकोट भूकम्पपछि क्षतिग्रस्त परम्परागत घरको सट्टा नयाँ पक्की घर निर्माण गर्ने क्रम अझ तीव्र बनेको स्थानीय बताउँछन्।
भेरी नगरपालिका–१३ का ध्रुवप्रसाद शर्माका अनुसार नयाँ पुस्ताले सुविधायुक्त घर रोज्न थालेपछि पुर्खाले निर्माण गरेका मौलिक घर हराउँदै गएका छन्। उहाँले हिउँदमा न्यानो र गर्मीमा शीतल रहने यस्ता घर स्थानीय वातावरणअनुकूल मात्र नभई सांस्कृतिक सम्पदासमेत भएको उल्लेख गर्नुभयो।
स्थानीय बुढापाकाले परम्परागत घरको संरक्षणमा ध्यान नदिइए जाजरकोटको मौलिक वास्तुकला र सांस्कृतिक पहिचान नै हराउने चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार आधुनिक विकास आवश्यक भए पनि ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका घरको संरक्षणसँगै नयाँ निर्माणलाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ।








