२०८३ साउन १२ , मंगलबार

पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य



 

दैलेख । भगवतीमाई गाउँपालिका–३ मेहेल्तोली र वडा नं- ४ जगनाथलाई जोड्ने तुर्सु खोलामा स्थायी पुल निर्माण नहुँदा स्थानीयवासीले ठुलो सास्ती खेप्नु परेको छ । वर्ष वर्षायाममा यात्रु र सवारीसाधनले हरेक दिन जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाब बढ्दा सवारीसाधन सञ्चालन झनै कठिन बनेको छ ।खोला बढेपछि दैनिक आवतजावत प्रभावित हुने मात्र होइन, आकस्मिक बिरामीलाई अस्पताल पुर्‍याउनसमेत कठिनाइ हुने गरेको स्थानीयको गुनासो छ।

स्थानीय जनक अधिकारीका अनुसार वर्षाको समयमा खोला उर्लिएपछि मोटरसाइकल खोलाको दुवै किनारमा राखेर पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा एम्बुलेन्स गाउँसम्म पुग्न नसक्ने भएकाले बिरामीलाई समयमै उपचारका लागि सान्तडा अस्पताल लैजान समस्या हुने गरेको उहाँले बताउनुभयो। विद्यालय जाने बालबालिकासमेत जोखिमपूर्ण बाटो प्रयोग गर्न बाध्य छन्।

यस्तै भगवतीमाई गाउँपालिका–३ का वडाध्यक्ष मानबहादुर खड्काले तुर्सु खोलामा प्रत्येक वर्ष अस्थायी काठको पुल ९लाप्का० राख्ने गरिए पनि वर्षा सुरु भएपछि बाढीले बगाउने वा कुहिने समस्या दोहोरिने गरेको बताउनुभयो। स्थायी समाधानका लागि फलामको ट्रस पुल निर्माण गर्ने उद्देश्यले करिब साढे सात लाख रुपैयाँको प्राविधिक लागत अनुमान तयार गरिएको भए पनि योजना कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ। गाउँपालिकासँग पटक–पटक पहल गरे पनि अपेक्षित काम अघि नबढेको उहाँले उल्लेख गर्नुभयो।

गाउँपालिका अध्यक्ष गणेशबहादुर थापाले पुल निर्माणका लागि बजेट विनियोजनको प्रयास भए पनि योजना कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो। प्राविधिक लागत अनुमान तयार भए पनि विभिन्न कारणले निर्माण प्रक्रिया अघि बढ्न नसकेको उहाँको भनाइ छ।

गाउँपालिकाका इन्जिनियर ब्रजग परियारका अनुसार उपलब्ध बजेट मोटर चल्ने पुल निर्माणका लागि पर्याप्त थिएन। प्रारम्भमा मोटरसाइकल सञ्चालन गर्न मिल्ने ट्रस पुल निर्माणको योजना रहे पनि पछि बजेट घटाएर दुई लाख रुपैयाँको सीमाभित्र योजना बनाउन निर्देशन आएपछि परियोजना अघि बढ्न नसकेको उहाँले बताउनुभयो।

उहाँका अनुसार सङ्घीय सरकारअन्तर्गत स्थानीय पूर्वाधार कार्यक्रममार्फत करिब एक करोड रुपैयाँ बजेट आउने चर्चा भए पनि हालसम्म त्यससम्बन्धी निर्माण प्रक्रिया सुरु भएको छैन। विपद् व्यवस्थापन शीर्षकबाट ट्रस पुल निर्माण गर्ने सम्भावना पनि अन्तिम समयमा बजेट घटाइएपछि टरेको उहाँको भनाइ छ।

यता गाउँपालिकाकै एक कर्मचारीले पुल निर्माणमा कमिशन र बार्गेनिङका कारण ढिलाइ भइरहेको संकेत गर्दै सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी सार्वजनिक गरेपछि विषय थप चर्चामा आएको छ। यद्यपि उक्त आरोपबारे गाउँपालिकाले औपचारिक धारणा सार्वजनिक गरेको छैन।

स्थानीयवासीले हरेक वर्ष अस्थायी उपायमा सीमित नभई तुर्सु खोलामा स्थायी पुल निर्माण गरी सुरक्षित आवतजावतको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित मिति : २०८३ साउन २ गते शनिबार
प्रतिक्रिया