२०८३ साउन १२ , मंगलबार

सडक निर्माण नहुँदा स्टेचरमै अस्पताल पुग्न बाध्य बिरामी




यामराज बिष्ट
दैलेख । पछिल्लो समयमा स्वास्थ्य उपचारका लागि जिल्लामा नागरिकले सडक निर्माण नहुँदा बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन निकै कठिनाई भइरहेको छ ।दैलेख जिल्लाका दुर्गम बस्तीमा सडक र आधारभूत स्वास्थ्य सेवाको अभावका कारण बिरामीलाई आज पनि स्टेचरमा बोकेर उपचारका लागि स्वास्थ्य संस्था सम्म पु¥याउनुपर्ने बाध्यता हट्न सकेको छैन।

भगवतीमाई गाउँपालिका–६ चिपिनका ६८ वर्षीय कल सिंहले आफ्नी श्रीमती सावित्रा सिंहलाई उपचारका लागि स्टेचरमा बोकेर बेस्तडा बजार पु¥याउनु भएको छ।उहाँले गाउँसम्म पुग्ने सडक वर्षौंदेखि मर्मत नहुँदा एम्बुलेन्स तथा अन्य सवारीसाधन सञ्चालन हुन नसकेपछि बिरामीलाई जोखिमपूर्ण अवस्थामा स्ट्रेचरमै बेस्तडा बजारसम्म लैजानुपर्ने बाध्यता रहेको बताउनुभयो।
उहाँले वर्षायाममा गाउँमा सडक पुगे पनि नियमित मर्मत नहुँदा बिरामीलाई करिब३घण्टा बढी लगाएर लैजानुपर्ने बाध्यता रहेको बताउनुभयो ।उहाँले कारण बिरामी, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा अन्य स्थानीयले समयमै स्वास्थ्य सेवा पाउन कठिनाइ भोगिरहेका बताउनुभयो।
स्थानीयवासीका अनुसार बाबितडा–चिपिन सडकको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भए पनि निर्माण तथा स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन। सडक सञ्चालनमा नआउँदा आकस्मिक बिरामीलाई स्टेचरमै बोकेर स्वास्थ्य संस्था पु¥याउनुपर्ने अवस्था कायमै छ।

बजेट अभाव र सम्बन्धित निकायको ढिलासुस्तीका कारण सडक निर्माण हुन नसकेको भगवतीमाई गाउँपालिका–६ का वडा सदस्य दिपबहादुर सिंहले बताउनुभयो। उहाँले सडक निर्माणका लागि बर्खायामअघि नै गाउँपालिकालाई जानकारी गराइएको बताउनुभयो ।उहाँले सडक निर्माणका लागि करिब ३२ लाख रुपैयाँ बजेट विनियोजन भए पनि हालसम्म काम अघि नबढेको बताउनुभयो। पटक–पटक पूर्वाधार विकास कार्यालय दैलेखलाई जानकारी गराउँदा पनि कुनै पहल नभएको उहाँको गुनासो छ।

वडा सदस्य सिंहले ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य अलपत्र परेको भन्दै सडक समयमै निर्माण नहुँदा स्थानीयवासी, विशेषगरी बिरामी, विद्यार्थी र सर्वसाधारणले वर्षायाममा निकै सास्ती खेप्नुपरेको बताउनुभयो। उहाँले सम्बन्धित निकायले तत्काल निर्माण कार्य सम्पन्न गराउन आवश्यक पहल गर्नुपर्ने माग गर्नुभयो।

सरकारले सडक र पुल निर्माणका विषयमा पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेकाले स्थानीयवासीले सास्ती खेपिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश कमिटी सदस्य खगीसरा बुढाले बताउनुभयो। उहाँले गाउँको स्वास्थ्य संस्थामा सामान्य सिटामोलजस्ता आधारभूत औषधिसमेत नियमित उपलब्ध नभएका कारण कतिपय बिरामी र सुत्केरी महिलाले समयमै उपचार नपाएर थप जोखिम व्यहोर्नुपरेको बताउनुभयो।उहाँले बाबितडा–चिपिन जोड्ने पुल निर्माणका लागि डीपीआर तयार भएको भनिए पनि हालसम्म निर्माण प्रक्रिया अघि नबढेको बताउनुभयो।

यसअघि निर्माण गरिएको झोलुङ्गे पुलसमेत जीर्ण बनेकाले स्थानीय जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।स्थानीयवासीले विकासका योजना कागजमै सीमित भएको आरोप लगाउँदै सडक, पुल तथा आधारभूत स्वास्थ्य सेवामा तत्काल सुधार गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार
प्रतिक्रिया